काठमाडौं । बीमा समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार ३४.५१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले जारी गरेका लघु र म्यादी जीवन बीमालेखका आधारमा बीमाको पहुँच ३४.५१ प्रतिशत जनसंख्यामा पुगेको देखिएको हो ।
जवकी गत वर्षको चैत मसान्तसम्ममा २४.५२ प्रतिशत थियो । एक वर्षकै अवधिमा १० प्रतिशत विन्दु भन्दा धेरैले सुधार देखिएको छ । जीवन बीमा कम्पनीले चैत मसान्तसम्ममा म्यादी, लघुम्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ४७ लाख ६० हजार ३०९ वटा पोलिसी जारी गरेका छन् ।
त्यस्तै म्यादी र लघु म्यादि जीवन बीमालेखको संख्या भने ६१ लाख ७८ हजार ५६२ वटा रहेको छ भने बैदेशिक रोजगार बीमालेख संख्या ८ लाख ५२ हजार ८२७ वटा जारी भएको छ । कुल बीमालेख संख्या एक करोड १७ लाख वटा रहेको छ ।
एक वर्षको अवधिमा जीवन बीमालेख संख्या ४१ प्रतिशतले सुधार भएको छ । गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या ८३ लाख ३४ हजार थियो । निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ३.०८ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा कम्पनीहरुले २ करोड १७ लाख वटा पोलिसी जारी गरेका छन् ।