२०८२ मंसिर १ सोमबार

काठमाडौं – पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको क्रेडिट कार्डमार्फत कर्जा प्रवाह चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा भने घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनासम्म क्रेडिट कार्ड कर्जा प्रवाह ६ अर्ब ६६ करोड ४१ लाख ३६ हजार २८८ रूपैयाँ पुगेको थियो ।

तर, भदौमा यो घटेर ६ अर्ब ४८ करोड १० लाख २१ हजार ३ मा सीमित भएको छ । हालसम्म वाणिज्य बैंकहरूले तीन लाख १७ हजार ९ सय ३० वटा क्रेडिट कार्ड जारी गरिसकेका छन् । यसरी हेर्दा एक महिनामै झन्डै १८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह घटेको देखिन्छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०८१/८२ को अन्त्यसम्म (असार मसान्तसम्म) क्रेडिट कार्डबाट कर्जा प्रवाह ५ अर्ब ६६ करोड २२ लाख १६ हजार ५५९ थियो । त्यसअघि ०८०/८१ को असारसम्म यो रकम ४ अर्ब ५२ करोड ४१ लाख ३१ हजार ३४४ र ०७९/८० मा ३ अर्ब ५२ करोड ११ लाख ९५ हजार ४१ थियो ।

तीन वर्ष लगातार वृद्धि हुँदै आएको क्रेडिट कार्ड कर्जा प्रवाह भदौमा घट्नुले ग्राहकले खर्चमा देखाएको मीतव्ययिता तथा बैंकहरूले जोखिम व्यवस्थापनमा कडाइ गरेकाले हुनसक्ने अनुमान गरिएको छ । वित्तीय क्षेत्रका जानकारका अनुसार अघिल्ला वर्षहरूमा क्रेडिट कार्डको प्रयोग शहरी उपभोक्ताबीच तीव्र रूपमा बढे पनि हाल उपभोगमुखी खर्च घट्दै जाँदा यसको प्रभाव कर्जा प्रवाहमा पनि देखिन थालेको हो ।

कुन बैंकले कति गरे क्रेडिट कार्डबाट कर्जा प्रवाह ?
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्मको तथ्यांकअनुसार क्रेडिट कार्डमार्फत सबैभन्दा धेरै कर्जा प्रवाह नबिल बैंकले गरेको देखिएको छ । नबिल बैंकले क्रेडिट कार्डमार्फत १ अर्ब २१ करोड ७७ लाख ४४ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यसपछि सिद्धार्थ बैंक दोस्रो स्थानमा रहेको छ । यसले ८७ करोड ५६ लाख १२ हजार ७३ बराबरको कर्जा प्रवाह गरेको छ ।

तेस्रो स्थानमा रहेको कुमारी बैंकको कर्जा प्रवाह ७८ करोड ७४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । त्यसपछि ग्लोबल आइएमइ बैंकले ५९ करोड ६४ लाख ७० हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३५ करोड ६९ लाख ७० हजार, र हिमालयन बैंकले ३५ करोड ६२ लाख ५ हजार बराबरको कर्जा प्रवाह गरेका छन् ।

एनआइसी एसिया बैंकले २४ करोड ४८ लाख, माछापुच्छ्रे बैंकले ३२ करोड ८७ लाख, र लक्ष्मी सनराइज बैंकले ३२ करोड ३० लाख बराबरको क्रेडिट कार्ड कर्जा प्रवाह गरेका छन् । यस अवधिमा एभरेष्ट बैंक, सिटिजन्स, प्राइम कमर्सियल, एनएमबी, प्रभु र सानिमा बैंकलगायतले पनि उल्लेखनीय परिमाणमा क्रेडिट कार्ड कर्जा वितरण गरेका छन्। तर, नेपाल बैंक र कृषि विकास बैंकको कर्जा प्रवाह नगण्य रहेको देखिन्छ । शहरी क्षेत्रका ग्राहकबीच कार्ड प्रयोगको चलन बढ्दै गए पनि ग्रामीण क्षेत्रमा अझै नगद र मोबाइल बैंकिङ्गमै निर्भरता बढी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय