नेपालमा वि.सं. १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना हुनुपूर्व औपचारिक बैंकिङ प्रणालीको विकास भएको थिएन । अनौपचारिक रूपमा भने कुनै न कुनै रूपमा मानिसले आफ्नो मौद्रिक आवश्यकता भने पूरा गर्ने गरेका थिए । यस कुराको ज्वलन्त उदाहरणको रूपमा ११ औ शताब्दीपूर्व नै शंखधर शाख्वाले काठमाण्डौबासीको ऋणमोचन गरेको कुरा इतिहासमा पाइन्छ । जयस्थिति मल्लले ६४ जातिमा नेपालीलाई विभाजन गर्दा ऋणको काम गर्नेगरी टंकाधारी भन्ने जाति रहेको र शंखधर शाख्वाले ऋणमोचन गरेको प्रसङ्गवाट नेपालमा मौद्रिक र बैंकिङ अवधारणा पुरानै अवधारणा रहेको भन्न सकिन्छ ।
अवधारणगत रूपमा बैंकिङ नयाँ नभएता पनि नेपाल बैंक स्थापनाभन्दा अघि तेजारथ अड्डाले कर्मचारीहरुलाई केही मात्रामा सापटी उपलब्ध गराउने गरेको भए पनि संस्थागत रूपमा खडा भई औपचारिक बैंकिङको प्रारम्भ गर्ने श्रेय भने नेपाल बैंकलाई नै जान्छ । नेपाल बैंकले नेपालमा नेपाली रूपैयाँको प्रवाहमा सहयोग पु¥याउनुका साथै मौद्रिक विकासमा समेत टेवा पु¥याएको पाइन्छ । वि.सं. २०१३ मा नेपाल राष्ट्र बैंक, २०१६ मा नेपाल औद्योगिक विकास निगम, २०२२ मा राष्ट्रिय वाणिज्य बैंक र २०२४ मा कृषि विकास बैंक गरी उदारीकरणको प्रारम्भपूर्व सरकारी स्वामित्वका दुई वाणिज्य बैंक र दुई विकास बैंक गरी चारवटा बैंक तथा वित्तीय संस्था र नियमनकारी निकायको रूपमा नेपाल राष्ट्र बैंक मात्र नेपालको बैंकिङ् प्रणालीमा रहेका थिए । यस समयमा नेपालको बैंकिङ ढड्डा प्रणालीमा आधारित र परम्परागत हुनुका साथै अविकसित र तदर्थवादमा नै आधारित रहेको थियो ।
वि.सं. २०४० पछि नेपालमा उदारीकरणको लहरसँंगै विदेशी संयुक्त लगानीमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु खुल्न थाले । नेपाल अरब बैंक, इण्डोस्वेज बैंक, ग्रिनल्याण्ड बैंकलगायतका विभिन्न बैंकहरु खुलेपछि प्रतिस्पर्धात्मक बैंकिङ प्रणालीको प्रारम्भ भएको र संख्यात्मक बैंकिङ विकासको लहर नै चलेको मान्न सकिन्छ । यही समयमा निजी क्षेत्रबाट धेरै बैंक तथा वित्तीय संस्थाहरु खुल्नुका साथै ढड्डामा आधारित बैंकिङ प्रणाली प्रविधिमा आधारित बैंकिङतर्फ अग्रसर भएको पाइन्छ । यसरी एकातिर निजी क्षेत्रका बैंकहरु उपस्थितिसँगै ग्राहकले प्रतिस्पर्धी सेवा सुविधा पाउन थाले भने अर्कातिर सरकारी स्वामित्वका पुराना बैंकहरुमा भने अति राजनीतिकरण हुनुका साथै अनियमितता र चरम बेथितिको परिणामस्वरूप करिब करिब टाट पल्टने अवस्थामा पुगेपछि सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्रममार्फत सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको सुधार गरी हाल बजारमा अब्बल र प्रतिस्पर्धी बैंकका रूपमा उपस्थिति जनाइरहेका छन् ।
यसरी नेपालमा साठीको दशकको अन्त्यसम्म आइपुग्दा बैंकहरुको संख्या नेपालको बजारको आवश्यकता भन्दा अत्यन्तै धेरै रहेको महसुस गर्न थालियो । आधुनिक प्रविधिको प्रयोग, ग्राहकमैत्री बैंकिङ प्रणाली, बजारद्वारा निर्धारित ब्याजदर प्रणाली, कोर बैंकिङ सिष्टमको प्रयोग, नियमनकारीको दरिलो उपस्थिति यस बेलाका प्रमुख उपलब्धिका रूपमा रहेका छन् । यसरी बैंकिङ प्रणालीमा कमजोर पँुजीगत आधारर अधिक संस्थागत उपस्थितिले गुणात्मक विकासलाई बाधा पु¥याएको महसुस गरी नेपाल राष्ट्र बैंकले मर्जरको नीतिसँंगै पुँजीगत आधारमा वृद्धि गर्ने नीति लिएपश्चात् उल्लेख्य मात्रामा बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्न गएको अवस्था छ । वर्तमान अवस्थासम्म आइपुग्दा नेपालको बैंकिङ प्रणाली विगतको तुलनामा दरिलो पुँजीगत आधारसहित सुदृढ भएर उपस्थित भएको छ ।
कोर बैंकिङ सिस्टम र यसमार्फत प्रवाह गरिने मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड तथा ATM बैंकिङ, अत्याधुनिक ट्रान्सफर सिस्टम, नियमनकारीबाट निर्धारण गरिएको आधार निर्धारण विधिबाट निर्धारित आधार दर, आधार दरमा आधारित ब्याज दर, सुदृढ संस्थागत सुशासन, प्रतिस्पर्धी सेवाप्रवाह र ग्राहकमुखी बैंकिङ सुविधाले युक्त गुणात्मक रूपमा फड्को मार्दै गएको देखिन्छ । त्यसैले गर्दा बैंकिङ एउटा सुदृढ र सम्मानित इन्डष्ट्रिकै रूपमा विकसित हँुदै गइरहेको छ । यसरी विभिन्न उतार चढावहरुको सामना गर्दै संख्यात्मक रिसाइजिङ्, प्रविधिको व्यापक प्रयोग, प्रतिस्पर्धी र आधुनिक सेवा प्रवाह र ग्राहकमुखी तथा ग्राहकमैत्री सेवा प्रवाहको सहायताले गुणात्मक विकाससँगै शैशव अवस्थावाट वयस्क अवस्थातर्फ प्रवेश गर्न थालेको नेपालको बैंकिङ प्रणाली विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीवाट निष्प्रभावी रहने कुरै भएन ।
नेपाल जस्तो राजनीतिक अस्थिरताले नराम्ररी प्रभावित भएर अब भने स्थिर रहँदै आर्थिक विकासको बाटोतर्फ बामे सर्न खोजेको मुलुकमा अप्रत्यासित रूपमा आइपरेको यो विश्व विपत्तिले ल्याएको चुनौतीलाई समेत अवसरमा बदल्नु बाहेकको हामीसँंग अरु कुनै विकल्प छैन । विश्वव्यापीरूपमा फैलिएको कोरोना माहामारी र यसबाट बच्न सरकारले चालेको लकडाउन लगायतका विकल्पले नेपालको औद्योगिक र व्यापारिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । यसरी बैंकिङ क्षेत्रको मुख्य बजारको रूपमा रहेको औद्योगिक र व्यापारिक क्षेत्रमा परेको नकारात्मक प्रभावले बैंकको कर्जा असुलीमा समेत नकारात्मक असर पर्नुका साथै लगानीका सम्भाव्य क्षेत्र पनि खुम्चदै गएका छन् ।
कोरोना माहामारीले सृजना गरेको असहज अवस्था तत्कालै सामान्य हुने सम्भावना नदेखिनु र बैंकको कर्जाग्राहीको परियोजना तथा व्यापार बन्द भइसकेको अवस्थामा अधिकांश कर्जा धितो लिलाम गरेर असुली गर्नुपर्ने हुन सक्छ । यसरी एकैपटक धेरै कर्जा असुली लिलामी प्रक्रियाबाट गर्नुपर्दा धितोले उचित मूल्य नपाउनुका साथै कर्जाको सावाँ समेत असुली नहुन सक्छ । एकातिर ऋणी डेब्ट ट्रयापमा फस्दै जाने अर्कातिर तुलनात्मक रूपमा कमजोर प्रकृतिका बैंक तथा वित्तीय संस्था धराशायी हँुदै टाट पल्टिने भई विश्व अर्थतन्त्र नै सन् १९३० को आर्थिक महामन्दी भन्दा पनि खतरनाक महामन्दीको दलदलमा फस्न सक्ने सम्भावना समेत देखिन्छ । नेपालको बैंकिङ परिपक्व र व्यवस्थित नभइसकेको सन्दर्भमा कोरोना महामारीवाट सिर्जित माथि उल्लिखित जोखिम नेपालको सन्दर्भमा अझ बढी देखिन्छ ।
कोरोना महामारीबाट सिर्जित उल्लेखित चुनौतिका साथसाथै नेपालको बैंकिङ् प्रणाली र समग्र अर्थतन्त्रका लागि केही अवसर समेत लिएर आएको छ । नेपालमा करिब ७० प्रतिशत जनसंख्या कृषिमा निर्भर भएको भए पनि कृषिको आधुनिकीकरण र व्यवसायीकरणको अभावमा निर्वाहमुखी कृषिको बाहुल्यता रहेको थियो । अब यही मौकामा नेपालको कृषि प्रणालीलाई व्यावसायिक बनाई कृषि क्रान्तिको बहार ल्याई औद्योगिक क्रान्ति हुँदै देशलाई समृद्धितिर अघि बढाउने अवसर प्राप्त भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्रान्तिका लागि आवश्यक पँुजी उपलब्ध गराई लगानीको नयाँ र दरिलो क्षेत्रको रूपमा कृषिलाई विकास गर्न सकिन्छ ।
यसका साथै उर्वर र उर्जावान श्रमशक्ति विदेशी भूमिमा श्रम बेचेर अर्काको देश बनाउन तल्लीन रहेको परिवेश अव कोरोनाको कारण फेरिन सक्नेछ । विदेश गएका नेपाली दाजुभाइ दिदिबहिनीहरु नेपाल फर्कि विदेशी भूमिमा सिकेको शीप प्रयोग गरी नेपालमै उद्यमशीलताको विकास गर्न सकिन्छ । विदेशबाट फर्केका युवाहरुलाई लक्षित गरी राष्ट्र बैंकले समेत सहुलियत कर्जाको व्यवस्था गरेको हुँदा विदेशवाट फर्केका नागरिकहरू लगानीको सम्भाव्य अर्को क्षेत्रको रूपमा बैंक तथा वित्तीय संस्थाहरुका लागि अर्को अवसर हुन सक्छ । नेपालको बैंकिङ प्रणाली मुद्रा विनिमय प्रणालीमा आधारित छ । त्यसैले नेपालको बजारमा मुद्राको चलनचल्ती अत्यधिक रहेको छ, जसले गर्दा बैंकिङ प्रणालीको कार्यबोझ बढेको छ । यही कोरोनाको कारण भौतिक दूरी कायम राख्नु पर्ने परिस्थितिलाई अवसरको रूपमा लिँदै बैंकिङ प्रणालीभित्र डिजिटल बैंकिङ उपकरणहरुको प्रयोग गरी Cashless Transaction लाई स्थापित गर्ने अवसरको रूपमा पनि यो महामारीलाई उपयोग गर्न सकिन्छ ।
यसरी नेपालको बैंकिङ प्रणाली आधुनिक प्रविधिको उपयोगसँगै गुणात्मक रूपमा व्यवस्थित हुँदै गएको परिवेशमा अनपेक्षित रूपमा आएको यो कोरोना महामारीले चुनौतीका पहाड नै खडा गरेको छ । चुनौतीसँगै प्राप्त केही अवसरहरुलाई उपयोग गर्दै लगानीका वैकल्पिक क्षेत्रको पहिचान गरी कोरोनासँगै जीउन सिक्नु नै आजको आवश्यकता हो । कोरोना चुनौती मात्र लिएर आएको छैन अवसरहरु पनि सँगै लिएर आएको छ । त्यसैले नेपालको बैंकिङ प्रणालीको लागि यस्ताखालका आर्थिक धक्काहरुको सामना गर्दै आफूलाई परिपक्व बनाउँदै लाने अवसर पनि हो वर्तमान अवस्था । त्यसैले यस्ता धक्कावाट हल्लिएका केही जगहरुलाई अझ दरिलो बनाई अझ मजबुत आधारसहितको बैंकिङ प्रणालीको विकास गर्ने महत्वपूर्ण अवसरको रूपमा उपयोग गरौं ।















