२०८२ कार्तिक ६ बिहीबार

काठमाडौं । सुनको मूल्य ऐतिहासिक स्तरमा पुगेको छ । बिहीबारको कारोबारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढ्दै २ लाख ५० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा थप वृद्धि हुँदै बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको हो, जुन हालसम्मकै उच्च मूल्य हो । महासंघका अनुसार बिहीबार १० ग्राम सुनकै मूल्य २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ कायम भएको थियो। यस आधारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँ बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ३ हजार २४० रुपैयाँ कायम भएको चाँदी बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ पुगेको हो।

सुनको मूल्यमा देखिएको लगातार वृद्धि केवल उपभोक्तामात्र होइन, बैंक तथा वित्तीय संस्थाहरूका लागि पनि महत्वपूर्ण सन्देश बनिरहेको छ । अघिल्ला वर्षहरूमा सेयर बजारको अस्थिरता, रियल–इस्टेट कारोबारको सुस्तता र औद्योगिक क्षेत्रको लगानीगत मन्दीबीच सुन धितो कर्जा बैंकका लागि सबैभन्दा सुरक्षित र तरल लगानीका रूपमा उदाएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा बैंकहरूले सुनचाँदी धितोका आधारमा करिब २ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै ३८ प्रतिशतले बढी हो । बैंकहरूका अनुसार सुन धितो कर्जा जोखिम न्यून र प्रतिफल सुनिश्चित हुने खालको लगानी हो ।

भविष्य : डिजिटल गोल्ड र फिनटेकको सम्भावना

सुनलाई विश्व बजारमा ‘सेफ हेभन असेट’ अर्थात् संकटका बेला सुरक्षित लगानीको माध्यमका रूपमा चिनिन्छ । जब विश्व बजारमा अस्थिरता बढ्छ, लगानीकर्ताहरू सुनमा आकर्षित हुने गर्छन् । हाल अमेरिकी डलर कमजोर हुँदा, मध्यपूर्वको तनाव र विश्व आर्थिक अनिश्चितताले सुनको मूल्य लगातार उकालो लागेको देखिन्छ । विश्व बजारमा पनि अहिले सुनको मूल्य २ हजार ४ सय अमेरिकी डलर प्रति औंस नजिक पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हो ।

नेपालमा सुनको मूल्य सिधैँ अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित हुँदा बैंकहरू यस प्रवृत्तिलाई आफ्ना लगानी नीतिमा प्रयोग गर्न थालेका छन्। बैंकहरूले सुन धितो कर्जा छोटो अवधिको तरल लगानीका रूपमा हेर्छन् ।

कर्जा रकम छोटो अवधिमा फिर्ता हुने, धितो सजिलै नीलाम गर्न सकिने, र बजार मूल्य स्थिर हुने भएकाले यो लगानी कम जोखिमयुक्त मानिन्छ। सुन धितो कर्जा बैंकका लागि लो–रिस्क र हाइ–लिक्विड प्रोडक्ट हो। बजारमा लगानी सुस्त हुँदा पनि यसबाट स्थिर आम्दानी सुनिश्चित गर्न सकिन्छ ।

बैंकहरूले पछिल्ला वर्षहरूमा सुन धितो कर्जा प्रक्रियामा प्राविधिक सुधार पनि गरेका छन्। अहिले धेरै बैंकहरूले सुन कर्जाका लागि ‘गोल्ड लोन क्यालकुलेटर’ जस्ता डिजिटल सुविधा सञ्चालनमा ल्याएका छन् । ग्राहकले सुन लिएर आउँदा तत्काल मूल्यांकन गरी रकम खातामा पठाइन्छ । अहिले यस कर्जाको ब्याजदर करिब ९ देखि १२ प्रतिशतसम्मको दायरामा रहन्छ ।

सुन धितो कर्जा व्यक्तिगत तथा साना व्यवसायिक प्रयोजनका लागि विशेष रूपमा लोकप्रिय भएको छ । उपभोक्ताहरूले घर मर्मत, व्यापार विस्तार, वा वैदेशिक रोजगार तयारीका लागि छोटो अवधिको कर्जा सजिलै पाउने गरेका छन् ।

सुनको मूल्य बढ्नुले बैंकहरूका लागि लगानी सुरक्षित बनाएको भए पनि यसले केही चुनौती पनि ल्याएको छ। मूल्य अत्यधिक बढ्दा बजारमा सुनको खरिद घट्ने र नयाँ धितोका स्रोत सीमित हुने सम्भावना रहन्छ। यद्यपि, बैंकका विज्ञहरूको मूल्याङ्कनमा दीर्घकालीन रूपमा सुनको माग र मूल्य दुबै उच्च रहने विश्वास छ।

सुन धितो कर्जा तरलता व्यवस्थापनको उत्कृष्ट उपकरण हो। अहिले बैंकहरूले यही क्षेत्रमा विस्तार गरे भने जोखिम घट्ने र लगानीको गुणस्तर बढ्ने सम्भावना धेरै छ ।सुन बजारमा निरन्तरको मूल्यवृद्धिले नेपाली अर्थतन्त्रमा पनि दोहोरो प्रभाव पारेको छ।

एकातिर सुन आयातमा खर्च घट्दा विदेशी मुद्रा सञ्चितिमा सुधार आएको छ भने अर्कातिर घरेलु बजारमा मूल्यवृद्धिको दबाब पनि बढेको छ। तर, बैंकिङ क्षेत्रको दृष्टिले यो अवस्था सन्तुलित अवसरका रूपमा देखिएको छ।

सुन केवल गहनाको प्रतीक होइन, अब वित्तीय सुरक्षाको प्रतीक पनि बनेको छ। सुनको स्थायित्व र बजार विश्वासले यसलाई बैंकिङ क्षेत्रमा दीर्घकालीन स्थायित्व ल्याउने उपकरण बनाएको छ ।

हाल देखिएको प्रवृत्तिले सुन धितो कर्जा अब केवल सानो खालको वित्तीय सेवा होइन, नेपालको बैंकिङ स्थायित्वको मेरुदण्ड बन्ने दिशामा छ । सुनको मूल्य बढेसँगै यसको धितो मूल्य पनि बढिरहेको छ, जसले बैंकहरूलाई थप सुरक्षाको अनुभूति दिलाएको छ । सुनको चमक अहिले बजारदेखि बैंकको भण्डारणसम्म फैलिएको छ, र यसले सुन अझै पनि सबैभन्दा सुरक्षित र विश्वासिलो लगानीको माध्यम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर