काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) को रूपमा तारा मानन्धरलाई नियुक्त गरेको छ । बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । मानन्धरलाई ४ वर्षको कार्यकालका लागि सीइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।
हाल बैंकको सीइओको जिम्मेवारी सम्हालिरहेका प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा समाप्त हुँदैछ । त्यसपछि जेठ १ गतेदेखि मानन्धरले औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् ।
नेपाली बैंकिङ क्षेत्रमा परिचित र उत्कृष्ट छवि कमाएका उनी एक अनुभवी र दक्ष बैंकरका रूपमा चिनिन्छन्। उनको बैंकिङ यात्रा साविकको नेपाल बंगलादेश बैंकबाट सुरु भएको हो । त्यसपछि उनले साविकको एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, साविकको
बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक र प्राइम कमर्शियल बैंकलगायत नेपालका विभिन्न प्रतिष्ठित बैंकहरूमा काम गरे । यसरी उनीसँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेको छ । विशेष गरी, उनी यसअघि नै मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओ रहिसकेका हुँदा बैंकको आन्तरिक संरचना, कार्यसंस्कृति र रणनीतिसँग उनी परिचित छन् ।















