२०८३ बैशाख ६ आईतवार

इलाम । ‘कालो सुन’ नामले परिचित पूर्वी नेपालको प्रमुख उत्पादन नगदेवाली अलैँचीको मूल्य राम्रो भएपछि किसान ब्यवसायिक अलैँची खेतीमा लागेका छन् । किसानहरु अहिले मकैबारी मासेर नै यसको खेती गरिरहेका छन् ।

अलैँची असोज महिनामा उत्पादन हुन्छ । नयाँ बिरुवा लगाउने सिजन सुरु हुनै लाग्दा यहाँका किसानले अन्नबाली मासेर नै अलैची खेतीको तयारी गरिरहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिका २ का किसान गिरीराज खनालले ६६ रोपनी जमिनमा अलैँची लगाएका छन् । उनले करिव ५० मन माथी उत्पादन गर्दै आएका छन् ।

सरकारले कृषी क्षेत्रमा ठूलो लगानी गरेपनि किसानको बाली बिभिन्न रोग तथा किराले खाएर मासिने क्रम रोकिएको छैन । किसान खनाल आफैँले स्थानीय स्तरमा नै उत्पादनबाट औषधि निर्माण गर्दै आएका छन् । हाल पनि ग्रीननेट लगाएर यसको गुणस्तर जोगाउन लाग्नु परेको किसान खनालको भनाई छ ।

अलैँची खेती राम्रो हुन थालेपछि तराई र बजार क्षेत्र बसाई सरेर जानेहरु समेत फर्किन थालेका छन् । खाडी मुलुक जाने युवाको संख्यामा समेत कमी भएको युवाहरुको भनाई छ ।

नेपालमा यसको मुल्य निर्धारण नहुने हुँदा मुल्यमा भने अस्थिरता रहने गरेको छ । तेस्रो देश निर्यात हुने अलैँचीको मूल्यमा दैनिक रूपले उतारचढाव समेत आउने गरेको छ । यसले किसान तथा व्यवसायी दुबै व्यवसायिक समस्यामा पर्दै आएका छन् ।

नेपालबाट निर्यात हुने अलैँचीको ठूलो हिस्सा भारत जान्छ । भारतीय व्यवसायीले नेपाली अलैँची वांलादेश तथा अन्य खाडी मुलुकहरूमा बिक्री गर्ने गर्छन् ।

धान, गहुँ जस्ता खाद्य उत्पादनको झैँ अलैँचीको आफ्नै समर्थन मूल्य नहुँदा अलैँचीको व्यवसायिक कारोबार तेस्रो बजारमा निर्भर हुने गरेको छ । यही कारण अलैँचीको मूल्यमा उच्च तहसम्मको उतारचढाव हुने व्यवसायीहरूको ठम्याई छ । कोशी प्रदेशमा मात्र ६ हजार ९५.९ मेट्रिकटन अलैची उत्पादन हने गरेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर