२०८२ असार २९ आईतवार

काठमाडौं । स्कल इन्टरनेसनल नेपालको काठमाडौंमा सम्पन्न २५औँ वार्षिक साधारणसभाले रमेश लुइँटेलको अध्यक्षता १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा विजय अमात्य, द्वितीय उपाध्यक्षमा योगेन्द्र थापा, महासचिवमा सञ्जीव पाठक र कोषाध्यक्षमा रूपेश जोशी रहेका छन् ।

सदस्यमा सर्वोत्तम एल श्रेष्ठ, जनपाल थापा, पंकज प्रधानांग, युवराज श्रेष्ठ र शर्मिला केभी काफ्ले रहेका स्कल नेपालले जनाएको छ । स्कल नेपालका निवर्तमान अध्यक्ष महेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पूर्वअध्यक्षद्वय प्रवीण पाण्डे, भोला थापा र आरआर पाण्डेले संयुक्त रूपमा गर्नुभएको थियो ।

सो अवसरमा स्वर्गीय अम्बिका श्रेष्ठलाई मरणोपरान्त उपाधिबाट सम्मानित गरिएको थियो भने स्वर्गीय वसन्त मिश्रलाई वन्यजन्तु पर्यटनमा अग्रणी योगदानका लागि श्रद्धाञ्जली दिइएको थियो । वातावरण संरक्षणमा सक्रिय वरिष्ठ सदस्य नवराज घिमिरे र स्कल सचिवालयकी कार्यालय प्रमुख कल्पना श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो । स्कल नेपालको चार सदस्यीय प्रतिनिधिमण्डल अध्यक्ष लुइँटेलको नेतृत्वमा आगामी जुन २६-२९ मा श्रीलंकामा हुने स्कल एसिया कांग्रेसमा सहभागी हुने भएको छ ।

सन् १९३४ मा स्थापित स्कल इन्टरनेसनल पर्यटन व्यवसायमा क्रियाशीलहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । स्कल नेपालले स्कल नाइट, स्कल फण्डराइजिङ, कार ¥याली, स्कल एड, स्कल रिट्रिट, फार्म ट्रिप, स्कल टक्स, स्कल हेरिटेज टुर, स्कल नेचर वाक्स, थावान फेस्ट, स्कल वाइल्ड लाइफलगायतका कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय