
बैदेशिक रोजगारी सरदर नेपाली परिवारको मुख्य आयको श्रोत हुनुका साथै समग्र देशको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादनमा बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सको करिब २५ प्रतिशत योगदान रहने गरेको छ । प्रत्येक वर्ष ५ लाखको हाराहारीमा नेपाली युवा मलेसिया, खाडी लगायत विश्वभरिका १०० भन्दा बढी मुलुकहरुमा नेपाल सरकारको स्वीकृती लिई आफ्नो श्रम बेच्न बिदेशिने गरेका छन् । यसरी बिदेशिने मूलतः अदक्ष कामदारको कार्यक्षेत्रमा स्वास्थ्य लगायतका कार्यगत जोखिम उच्च रहेको स्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारले बैदेशिक रोजगार ऐन, २०६४ मा बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको श्रम स्वीकृतिका लागि कम्तीमा रु. ५ लाख बराबरको बीमाको प्रमाण पत्र अनिवार्य गरेपश्चात नेपालमा बैदेशिक रोजगार जीवन बीमालेखको अवधारणा सुरु भएको हो ।
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिद्वारा बीमाशुल्क तय गरी सुरुमा रु. ५ लाखको बीमाकं रहेको म्यादी जीवन बीमालेख प्रचलनमा ल्याइएको थियो । जस अन्तर्गत भिसा अवधि भन्दा ६ महिना बढी अवधिको लागि श्रमिकसँग एकल बीमाशुल्क प्राप्त गरी बीमालेख जारी गर्ने व्यवस्था रहेको पाइन्छ । बीमाअभिकर्ताका माध्यमबाट १० प्रतिशत कमिशन प्रदान गरी जारी गर्ने सो बीमा लेखअन्तर्गत श्रमिकले मृत्युवापत रु. ५ लाख, आय नोक्सानीवापत रु. १ लाख, ििकरिया खर्चवापत रु. ५० हजार, उपचार खर्चवापत रु. ५० हजारसम्म र शव नेपाल ल्याउन रु. १ लाख गरी जम्मा रु. ८ लाखसम्मको दावी भुक्तानी प्राप्त गर्ने विशेषता रहेको थियो । पछि २०७३ बैशाख १ गतेबाट सो बीमालेखको बीमाङ्क तथा सुविधाहरु शतप्रतिशत तर सो वापतको बीमाशुल्कमा ६५ प्रतिशत मात्र बृद्वि गरी नयाँ बीमादर कायम गरियो । साथै त्यसको केही समयपश्चात सो बीमालेखबाट १० प्रतिशत अभिकर्ता कमिशन हटाई बीमा शुल्कलाई थप २० प्रतिशत रकम गरियो र लगतै १५ विभिन्न घातक रोगविरुद्व अति न्यूनशुल्क रु. ४०० मा रु. ५ लाख बीमाङ्क बराबरको थप जोखिम बहनको दायित्व थपियो । यससँगै हाल बैदेशिक रोजगार म्यादी जीवन बीमाका माध्यमबाट २० लाखसम्मको दावी भुक्तानी प्राप्त गर्ने व्यवस्था रहेको छ ।
जीवन बीमावापत – रु. १० लाख
आयको नोक्सानीवापत – रु. २ लाख
किरिया खर्चवापत – रु. १ लाख
औषधि उपचार खर्चवापत – रु. १ लाखसम्म
शव ल्याउन खर्चवापत – रु. १ लाख
घातक रोगवापत – रु. ५ लाख
कुल रकम रु. २० लाख
यसरी विभिन्न समयमा बीमा समितिबाट बैदेशिक रोजगार म्यादी जीवन बीमालेखमा सुविधा तथा सो वापतको शुल्कमा असमानुपातिक वृद्धि हुनु तथा यस प्रकारको बीमालेखमा अत्याधिक उच्चदावी पर्ने स्थितिले गर्दा यस प्रकृतिको बीमालेख जारी गर्ने जीवन बीमा कम्पनीहरुको नाफामा संकुचन हुन थाल्यो । बीमा कम्पनीहरुले नाफा कायम राख्ने दबाबका कारण धेरै संख्यामा बीमालेख आ–आफ्नो कम्पनीमार्फत जारी गर्ने होडबाजी सुरु हुनगई व्यवसायमा अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना भयो । सोही परिस्थितीलाई मध्यनजर गरी बीमा समितिले बैदेशिक रोजगार म्यादी जीवनबीमा व्यवसायलाई पारदर्शी, मर्यादित, ब्यवस्थित तथा बढीभन्दा बढी ग्राहक सेवा उन्मुख गर्ने उद्देश्यसहित २०७५ माघ १ गते देखि सो व्यवसाय बीमकहरुको पुलमार्पmत सञ्चालन गर्ने निर्णय गरी लागु गरायो ।
‘कोरोना भाइरस रोगको नियन्त्रणका लागि ठप्पप्रायः रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार व्यवसायले गर्दा विश्वभरका सम्पूर्ण मुलुकहरुमा रोजगारी घट्ने तथा नेपाल राष्ट्र बैंक समेतले बिप्रेषण यसवर्ष मात्रै २० प्रतिशतले घट्ने प्रक्षेपण गरेबाट कम्तीमा आगामी १ वर्ष बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा उल्लेख्य गिरावट आउने देखिन्छ । यसको प्रत्यक्ष असरका रुपमा बैदेशिक रोजगार म्यादी जीवन बीमालेखको बिक्री तथा बीमाशुल्क संकलन अधिक रुपमा घट्ने निश्चित छ । बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सुरु भएको एक दशकभन्दा बढी समयसम्म आइपुग्दा विभिन्न सकारात्मक परिवर्तन हुँदै आएको परिप्रेक्ष्यमा माथि उल्लेखित सुधारबाट जीवन बीमा कम्पनीहरुलाई ठूलो रकम बीमाशुल्क आर्जन हुने तथा सरकारको सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यसमेत पूरा हुने कुरामा दुईमत नरहला ।’
वर्तमान स्थिति
हाल बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय १७ वटा कम्पनीहरुको एक संयुक्त पुलमार्पmत सञ्चालन गरिएको छ । बैदेशिक रोजगार म्यादी जीवनबीमा व्यवसाय पुल एकपटकमा ४ कम्पनी सञ्चालक रही बीमाशुल्क संकलन र दावी भुक्तानीको कार्य गर्ने र संकलित बीमा शुल्कबाट दावी भुक्तानी तथा प्रशासनिक खर्च कटाई बाँकी रहेको रकम बीमा समितिले तोकेको बजार हिस्साको अनुपातमा संलग्न कम्पनीहरुबीच बाँडफाट गर्ने कार्यविधिका आधारमा सञ्चालन भैरहेको छ । कम्पनीहरुबाट अलगअलग रुपमा व्यवसाय सञ्चालन गर्दा भन्दा कम प्रशासनिक खर्च लाग्ने र अन्य मुल व्यवसायमा व्यवस्थापनको ध्यान र स्रोत परिचालन गर्न सकिने तथा समायान्तरमा हरेक कम्पनीको समान बजार हिस्सा रहने हुँदा पुलको अवधारणा सम्पूर्ण कम्पनीको हितमा रहेको छ । यसका साथै बीमा समितिबाट जारी परिपत्रमा बीमाशुल्क संकलन अनलाइन माध्यम समेतबाट गर्ने तथा विदेशमा रहेर नै अबधि थप गर्न बीमाशुल्क तिर्न सक्ने ब्यवस्था मिलाएबाट बीमाशुल्क संकलन बढ्ने देखिन्छ ।
आवश्यक सुधार
विदेशमा रगतपसिना बगाई देशको समृद्धिको सपना पूरा गर्न बैदेशिक रोजगारमा खटिएका नेपाली युवा तथा तिनका परिवारका लागि बैदेशिक रोजगार म्यादी जीवनबीमा आर्थिक सुरक्षा प्रदान गर्ने सर्वोतकृष्ट माध्यम हो र सो सुविधा प्रदान गर्ने जीवन बीमा कम्पनीहरु उनिहरुका अप्ठ्यारोमा सहयोग गर्ने असल मित्रहरु हुन् । यस्तो पवित्र कार्यका लागि बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय पुलमार्फत एकजुट हुन मिलेको यो सौभाग्य जीवन बीमा कम्पनीहरुले किमार्थ गुमाउनु हुदैन । यस गठित पुललाई चीर समयसम्म स्थापित गर्न तथा सेवाग्राहीको सुविधा अनुभुति स्तर वृद्धिका लागि निम्न सुधार आवश्यक देखिन्छ ।
– बैदेशिक रोजगार म्यादी जीवन बीमाका लागि हाल पुलका सञ्चालक कम्पनीहरुले अलग अलग कार्यालय सञ्चालन गरिरहेको अवस्था लाई तत्काल अन्त्य गरी समग्र पुलको एकै ठाउँमा कार्यालय सञ्चालन गरी पुलको नाउँबाट नै बीमालेख जारी गर्ने व्यवस्था सुरु गर्ने ।
– बैदेशिक रोजगारीमा जाने बीमितहरुलाई आवश्यक बीमाशुल्क भुक्तानीदेखि दावी भुक्तानी सम्मको सम्पूर्ण सेवा एकद्धार प्रणालीमार्फत एकै स्थानबाट प्रदान गर्ने सुविधा विकास गर्ने ।
– बीमा शुल्क भुक्तानी तथा दावी भुक्तानीका लागि उपलब्ध प्रविधि तथा माध्यमहरुको प्रयोग गरी सेवा प्रवाहलाई विस्तार गर्दै लैजाने ।
– बैदेशिक रोजगार म्यादी जीवनबीमाका लागि हाल तोकिएको बीमाशुल्क अत्यन्त न्यून र बीमांकीय दृष्टिकोणबाट व्यवसायिक रुपमा सम्भाव्य नरहेको स्थितिमा बैदेशिक रोजगारीका लागि जाने देश, कामको प्रकृति तथा तलब बमोजिम जोखिम अलग–अलग हुने हुनाले सोही अनुसार बीमाङ्क र बीमाशुल्क निर्धारण गर्नका लागि बीमा समितिसँग आवश्यक परामर्श गर्ने ।
– बैदेशिक रोजगारीमा जाने एक श्रमिकले एकभन्दा बढी कम्पनीबाट जीवन बीमालेख लिन सक्ने स्थिति रहेको हुनाले एकै व्यक्तिको मृत्युमा दोहोरो दावी हुन सक्ने सम्भावना देखिन्छ । यस स्थितिको निवारणका लागि नियामकबाट स्पष्ट व्यवस्थाका लागि अनुरोध गर्ने ।
– बैदेशिक रोजगार म्यादी जीवन बीमाको दायरा भित्र हालसम्म पनि पर्न नसकेका भारतमा बैदेशिक रोजगारका लागि जाने लाखौं नेपालीहरुलाई समेट्नका लागि सम्बन्धित निकायसँग समन्वय र परामर्श गर्ने,
– बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय पुलमार्फत सञ्चालन गर्दा साधारणत जोखिम सबै कम्पनीहरु बीच बाडिने हुँदा पुनर्बीमा आवश्यक नभए पनि कोरोना भाइरस लगायतका एकै पटकमा ठूलो संख्यामा दावी उत्पन्न हुन सक्ने महाविपत्तीका लागि महाविपत्ती पुनर्बीमा गर्ने ।
कोरोना कहर र प्रभाव
सन् २०१९ को अन्त्यतिरबाट सुरु भएको Covid-19 ले महामारीको रुप लिइसकेको स्थिति छ । जसको प्रभाव संसारभरका देशहरुको अर्थतन्त्र नराम्रोसँग प्रभावित हुन पुगेको छ । यस प्रकोपको असर बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा पनि पर्ने देखिन्छ । बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायमा यस रोगबाट ज्यान गुमाएका बीमितहरुको मृत्युबापतको दावी भुक्तानीे र नयाँ बीमालेखको बिक्रीमा भने गिरावट हुन सक्ने देखिन्छ । विदेशमा कार्यरत थुप्रै नेपालीहरुको कोरोना भाइरसको कारणबाट मृत्यु भएको, हजारौं व्यक्तिहरु यस रोगबाट संक्रमण भएको र यसबाट हुन सक्ने थप मानवीय क्षेतिको आंकलन गर्नसमेत नसकिने अवस्था रहेको हुँदा, यसको प्रभाव निकै दर्विलो हुने देखिन्छ । विश्व समुदाय यस महामारी रोगको भयबाट मुक्त हुन अझ केहि समय लाग्ने र व्यवसाय यथावत भयमुक्तरुपमा चालु गर्न थप समय लाग्ने देखिएको हुँदा नयाँ व्यवसायमा हुने गिरावट र कोरोनाबाट मृत्यू हुनेको संख्या थपिँदा व्यवसायमा प्रतिकुल असर पर्ने स्पष्ट नै देखिन्छ ।
कोरोना भाइरस रोगको नियन्त्रणका लागि ठप्पप्रायः रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार व्यवसायले गर्दा विश्वभरका सम्पूर्ण मुलुकहरुमा रोजगारी घट्ने तथा नेपाल राष्ट्र बैंक समेतले बिप्रेषण यसवर्ष मात्रै २० प्रतिशतले घट्ने प्रक्षेपण गरेबाट कम्तीमा आगामी १ वर्ष बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा उल्लेख्य गिरावट आउने देखिन्छ । यसको प्रत्यक्ष असरका रुपमा बैदेशिक रोजगार म्यादी जीवन बीमालेखको बिक्री तथा बीमाशुल्क संकलन अधिक रुपमा घट्ने निश्चित छ । बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय सुरु भएको एक दशकभन्दा बढी समयसम्म आइपुग्दा विभिन्न सकारात्मक परिवर्तन हुँदै आएको परिप्रेक्ष्यमा माथि उल्लेखित सुधारबाट जीवन बीमा कम्पनीहरुलाई ठूलो रकम बीमाशुल्क आर्जन हुने तथा सरकारको सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यसमेत पूरा हुने कुरामा दुईमत नरहला ।
(पाण्डे सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्)