२०८२ आश्विन २८ मंगलवार

काठमाडौं – मंगलबार जेनजी आन्दोलनका क्रममा भएको निजी सम्पत्तीमाथिको क्षतिको प्रारम्भिक अनुमान अनुसार निर्जीवन बीमा कम्पनीहरूमा ५० अर्ब रुपैयाँभन्दा बढीको दाबी आउन सक्ने सम्भावना देखिएको छ।

हालसम्म हिल्टन होटेल, भाटभटेनी, एनसेल, सीजी इलेक्ट्रोनिक्स, ग्लोबल कलेज, युलेन्स स्कूल, थापाथलीको सेन्ट्रल बिजनेश पार्क लगायतका कर्पोरेट भवनहरूमा क्षति पुगेको छ। यसबाहेक निजी घर, आवास र सवारी साधनमा समेत ठूलो क्षति भएको छ। विशेषगरी विनोद चौधरीको रविभवन स्थित घरमा आगजनी र लुटपाट भएको छ भने सीजी मोटर्सको थापाथली शोरुममा आंशिक क्षति पुगेको छ। भाटभटेनी नक्शाल स्टोरमा आगो लगाइएको थियो र देशभरका अन्य स्टोरमा पनि लुटपाट भएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवारका अनुसार, हालसम्म देखा परेको सामान्य अनुमानअनुसार ५० अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी आउनसक्ने देखिएको छ। हिल्टन होटेलको बीमा ओरियन्टल इन्स्योरेन्सले गरेको छ भने भाटभटेनी र एनसेलको बीमा शिखर इन्स्योरेन्ससँग छ।

बीमा विशेषज्ञहरूको चेतावनी अनुसार, मंगलबारको क्षतिले बीमा बजारमा ठूलो दबाब पर्न सक्नेछ। ‘हुलदंगा आतंकवाद’ शीर्षकमा बीमा भएकोले प्रिमियम अत्यन्त कम राखिएको हुँदा, ठूलो दाबी भुक्तानीमा बीमा कम्पनीहरू कठिन अवस्थामा पर्ने सम्भावना छ। साथै, पुनर्बीमा अधिकार सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीसँग मात्रै भएकोले दाबी तिर्न असम्भव अवस्था पनि सिर्जना हुन सक्छ।

सरसर्ती अनुमानअनुसार हिल्टन होटेलमा ७–८ अर्ब, भाटभटेनीमा ५ अर्बभन्दा बढी, एनसेलमा ८–१० अर्ब, सीजी मोटर्समा ८० करोड र अन्य व्यवसाय तथा घरधनीबाट समेत ठूलो दाबी आउन सक्ने देखिएको छ।

हाल वास्तविक क्षति मूल्यांकन र दाबीको सही आंकडा आउन बाँकी छ। बीमा क्षेत्रका विज्ञहरू भन्छन्, यस घटनाले नेपाली बीमा बजारको क्षमता र जोखिम व्यवस्थापनलाई कडा चुनौती दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय