
काठमाडौं । नेको इन्स्योरेन्सले विभिन्न सामाजिक गतिविधिमा सहयोग पुर्याउँदै आएको छ । कम्पनीले समता स्कुल सञ्चालनार्थ स्थापित शैक्षिक गुठीलाई ५ लाख सहयोग उपलब्ध गराएको छ ।
कम्पनीका अध्यक्ष रोहितकुमार भट्टराईले समता शैक्षिक गुठीका निर्देशक दीपक सन्जेललाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे । समता स्कुलले देशका ७७ वटै जिल्लामा मासिक १०० शुल्कमा नर्सरीदेखि स्नातकोत्तर तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाट दिँदै आएको छ ।
कार्यक्रममा समताका निर्देशक सन्जेलले कम्पनीले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहज शिक्षा दिन सहयोग गरेकामा धन्यवाद दिए । अध्यक्ष भट्टराईले नेको इन्स्योरेन्स व्यवसाय वृद्धिका साथै समाजप्रतिको दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको बताए ।