काठमाडौं । बिमा कम्पनीले आफूखुसी प्रमुख कार्यकारी अधिकृत (सिइओ) को तलब घटाउन नपाउने भएका छन् । बिमा समितिले बिमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गनिर्देशन २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
मार्गनिर्देशनले कम्पनीले कार्यकारी प्रमुखलाई दिने तलब, भत्ता तथा अन्य सुविधा चार भागमा विभाजन गरेको छ भने निश्चित वार्षिक तलब तथा भत्तामा केही परिमार्जन गरेको छ ।
बिमकले सिइओको पुनः नियुक्ति गर्दा वा यस उपदफाबमोजिम गणना गरिएको निश्चित वार्षिक तलबभत्ता रकम यसअघि प्रदान गरिएको वार्षिक तलब तथा भत्ताभन्दा कम हुन आएमा समितिको स्वीकृति लिई अगाडि प्रदान गरिएको तलबभत्ता रकमसम्म प्रदान गर्न सकिने मार्गनिर्देशनमा उल्लेख छ ।
त्यस्तै कम्पनीका सिइओले विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको छ प्रतिशतसम्म भत्ता पाउने व्यवस्था गरिएको छ भने कम्पनीका सिइओले कम्पनीको विगत तीन आर्थिक वर्षको अन्त्यको औसत कुल सम्पत्तिको क्रमशः ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म निश्चित वार्षिक तलब तथा भत्ता पाउने व्यवस्था गरिएको छ ।
तर, यी दुई मापदण्डबाट गणना गर्दा जुनबाट कम आउँछ, सोहीअनुसारको तलबभत्ता निर्धारण गरिनेछ । सोही सीमाभित्र रहेर कम्पनीहरूले समितिको पूर्व स्वीकृति लिएरमात्रै सिइओको तलब तथा भत्ता थपघट गर्न पाउनेछन् ।