काठमाडौं । बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसक्ने भन्दै बीमा समिति र अर्थ मन्त्रालयलाई औपचारिक रुपमा जानकारी गराएका हुन् । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर बीमा समितिमा कोरोना बीमाको दाबी स्थगित भएको भन्दै पत्र पठाएका छन् । नेपाल बीमक संघले २० वटै निर्जीवन बीमा कम्पनीहरुका प्रमुखहरुको हस्ताक्षर सहित उक्त पत्र पठाएको हो ।
नेपाल सरकार र बीमा समिति सँग पटक पटक छलफल भए पनि भुक्तानीका लागि आवस्यक रकम नपठाए पछि बाध्य भएर स्थगित गर्नु परेको एक प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । सरकारले लकडाउन तथा निषेधाज्ञा खुला गरे सँगै बीमितले बीमा कम्पनीमा आएर धम्की दिन थाले पछि काम गर्न गाह्रो भएको उनले बताए ।
बीमितले सधै कोरोना बीमाको दाबी भुक्तानीका लागि कम्पनीमा आएर आक्रोस पोख्ने तथा धम्क्याउन थाले पनि अन्य काम गर्न पनि नसकिने अवस्था भएको उनिहरुको भनाइ छ । कोरोना बीमाका लागि ९ अर्ब रुपैयाँ भन्दा माथिको दाबी परिसकेको छ । पुल मार्फत साढे तीन अर्ब र एक अर्ब कम्पनीहरु आफैले दिए पनि सरकारले आफ्नो दायित्व अन्तर्गतको भुक्तानी नपठाउदा यस्तो अवस्था सिर्जना भएको हो ।
कोरोना बीमाका कारण जीवन तथा निर्जीवन बीमा व्यवसायमै असर परेको भन्दै यसलाई यथासिघ्र सल्टाउन उनिहरुले अनुरोध गरेका हुन् । मन्त्रालय सँगको छलफलमा जहिले पनि दाबी भुक्तानीको लागि आस्वासन दिने र कहिले पनि पैसा नपठाउदा यस्तो समस्या सिर्जना भएको हो ।
कम्पनीले आफ्नै रिस्कमा एक अर्ब भन्दा माथिको दाबी भुक्तानी गरे पनि सरकारले साथ नदिदा बीमितको दवाव झेर्नु परेको हो । बीमा समितिले सिद्धान्त विपरित २०७७ चैतमा कोरोना बीमाको पोलिसी जारी गरेको थियो । उक्त पोलिसीमा ५० हजार र एक लाख रुपैयाँ बीमाङ्क बरारबको कोरोना बीमा गर्न मिल्ने व्यवस्था थियो । बीमितलाई कोरोना संक्रमण देखिने वित्तीकै बीमाङ्क बराबरकै दाबी भुक्तानी पाउने व्यवस्थाका कारण यो सर्वाधिक लोकप्रिय भयो ।