
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले विभिन्न कार्यक्रमहरू गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहकहरूले गरेको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, मार्गनिर्देशन प्रदान गर्ने संचालक पदाधिकारीहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, माया, स्नेह प्रदान गर्ने शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरूका साथसाथै २२ वर्षको अवधिमा सहयोग गरी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।
आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने उनको भनाइ थियो ।
२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उत्त कार्यक्रममार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको वीरगन्जमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौंमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिम प्रदेशकोे महेन्द्रनगरमा ४५ गरी कुल ३ सय १० पिन्ट रगत संकलन गरिएको छ ।