काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जरपश्चात पौष ७ गतेदेखि संयुक्त कारोबार सुरुवात भएको छ । गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले पुस ७ गते सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन् ।
सूर्यज्योति लाईफ इन्स्योरेन्सको नाममा कारोबार भएसंगै सो कम्पनीको केन्द्रिय कार्यालय शान्ताप्लाजा ज्ञानेश्वर हुने तय भएको छ। कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन भएका छन् । प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत भएका छन् ।
मर्जर पश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजी ४ अर्ब ५४ करोड र कुल लगानी २८ अर्बभन्दा बढी पुग्ने पुग्नुका साथै दुई कम्पनीको आव २०७९-८० को पहिलो त्रैमासिक सम्मको कुल जीवन बीमाकोश २२ अर्ब, कुल बीमाशुल्क रु।२ अर्ब २७ करोडभन्दा बढी तथा नाफा भने ४२ करोड पुगेको छ।
बीमा क्षेत्रमा सूर्या लाइफले एक दशक भन्दा बढी समयदेखि उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक बृहत् कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योति लाईफले भने स्थापनादेखि छोटो समयमा नै बिस्वश्नीय सेवा दिदै आफुलाई एक सबल कम्पनीको रुपमा चिनाई रहेको थियो।
कम्पनीको कुल कर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखा हरु बाट १३ लाखभन्दा बढी बीमितलाई सेवा दिंदै सूर्यज्योती बिशाल कम्पनी भएको छ।
मर्जरका क्रममा देखिएका सम्पुर्ण कठिनाइलाई एक पछि अर्को गर्दै आपसी सहमतिमा टुङ्ग्याउँदै मर्जर पश्चात सूर्यज्योति दोस्रो ठुलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा यो भन्दा माथि पुग्ने कम्पनीले विश्वास गरेको छ ।
सूर्यज्योती लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाईफ र ज्योति लाइफ इन्स्योरेन्सको रुपमा सेवा प्रदान गरिरहेका दुई कम्पनी ऐतिहासिक सफल मर्जर पश्चात एक बनेर सूर्यज्योति लाइफ अब अझ बृहत्, अझ सबल, अझ बिशाल रुपमा बीमा क्षेत्रमा उत्कृष्ट सेवा दिने प्रतिबद्धता गर्दै उभिएको जानकारी गराए ।















