काठमाडौं । विगत लामो समयदेखि आन्दोलनमा रहेका नेपाल लाइफका अभिकर्ताहरुको मागलाई कम्पनी व्यवस्थापनले पुरा गर्ने सहमति जनाएको छ । आज नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारी विचमा सहमति भएको हो ।
अभिकर्ताहरुले राखेका जायज मागहरु पुरा भएको कम्पनीले जनाएको छ । आज दुई पक्ष विचमा नयाँ बीमा योजना तुरुन्तै ल्याउने सहमिति भएको छ । आजको सहमति पछि बीमा शुल्क नविकरण शुल्कमा दिदै आएको छुट सबै बीमितले २ वर्षको जरिवाना छुट पाउने भएका छन् ।
बीमालेख धितो कर्जामा बैंकको बेस रेट घटेकै दिनदेखि पुरानै कम्पनीले दिदै आएको व्याजदरमा कर्जा उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ । अभिकर्ता सवारी कर्जा सुचारी गर्ने विषयमा पनि उच्च व्यवस्थापन सँग सहमित भएको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्तालाई दिदै आएको विभिन्न कर्जामा रोक लगाएका कारण कम्पनीले पनि यसमा रोक लगाएको थियो । तर पछिल्लो समय प्राधिकरण पनि यस विषयमा लचक देखिदै आएको छ ।
कम्पनीले सबै पेण्डिङ रहेका स्किमका कार्यक्रमहरु पौष महिनाभरीमा सम्पन्न गर्ने भएको छ । बीमालेखमा लिएको थप अतिरिक्त शुल्क हटाउने विषयमा पनि सहमति जुटेको छ । सातवटै प्रदेशमा अभिकर्ता सम्मान तथा पुनर्ताजकी कार्यक्रम सञ्चालन गर्ने, उक्त कार्यक्रम प्रदेश नम्बर एकबाट नयाँ बीमा योजना सहित तुरुन्तै सुरु गर्ने विषयमा सहमति जुटेको अभिकर्ता संघले जानकारी दिएको छ ।
ए.एम.बिसी सिस्टममा पुनर्बिचार गर्न कम्पनी व्यवस्थापन तथा संचालक समिति सकारात्मक रहेको र सुधार गर्नु पर्ने अन्य विविध विषयहरु निरन्तर सुधार गर्दै जान कम्पनी व्यवस्थापन सहमत भएको हुँदा आज कम्पनी व्यवस्थापन र पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ विच सहमार्य गरेर अगाडी बढ्न सहमति भएको हो ।















