एक्काईसौं शताब्दीको यो विश्व एक गाउँको रुपमा विकास हुँदै गइरहेको छ । विज्ञान र प्रविधिको क्षेत्रमा भएको चमत्कारिक प्रगतिले विश्वव्यापीकरण लाई सार्थक तुल्याएको हो भने मूलरुपमा हवाईयातायात र सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकास र परिवर्तन नै विश्वव्यापीकरण सहितको आधुनिक विश्वनिर्माणको मूल आधारस्तम्भका रुपमा रहेका छन् भन्ने कुरा यथार्थ हो । अमेरिकाका राइट ब्रदर्सले सन् १९०३ मा सर्वप्रथम इञ्जिनसहितको वायुयानको सफल परीक्षण उडान गरेपछि संसारमा हवाईयातायातको क्षेत्रमा नयाँ युगको सुरुवात भएको मानिन्छ ।
सन् २००८ मे १४ मा राइट ब्रदर्सले नै चाल्र्स फर्नास नामको आफ्नो एकजना मेकानिकलाई पहिलो हवाईयात्रुको रुपमा प्रयोग गरेर सफल उडान गरेपछि वायुयानबाट यात्रु ओसार्ने कार्यको प्रारम्भिक सुरुवात भएको मान्न सकिन्छ । यसरी सुरु भएको हवाईयातायातको क्षेत्रमा भएको वैज्ञानिक प्रयोग र उड्डयनपश्चात् सन् १९१९ मा अमेरिकादेखि क्यानाडासम्मको पहिलो व्यापारिक यात्रु उडानको सफलतापछि भने व्यावसायिक हवाईउडानले गति लिएको देखिन्छ ।
वायुयान एक ठाउँबाट उडेर अर्को ठाउँसम्म जाने क्रममा वायुयानको क्षमताअनुसार छोटोदेखि धेरै लामो दूरी पार गर्नुपर्ने हुन्छ । उडानको क्रममा वायुयानले आकाशमा उडानमा रहेका अन्य वायुयानहरु, चराहरु तथा भिन्न–भिन्न प्रकृतिको बादलसँग सुरक्षित रहँदै आफ्नो दूरी पार गर्नुपर्ने हुन्छ । यात्रु र वायुयानको सुरक्षाका लागि वायुयानको पाइलट निरन्तर एयर ट्राफिक कण्ट्रोलको सञ्चारसम्पर्कमा रहने गर्छ । सही सूचना र सञ्चारबिना सुरक्षित हवाईउडानको परिकल्पना गर्न सकिँदैन । उडानको समयमा पाइलटको सहारा भनेको उसले प्राप्त गर्ने उपयुक्त सूचना हो र त्यस्तो सूचना प्राप्त हुने माध्यम सञ्चार हो ।
हवाई यातायातको सुरु भएपछि सूचनाका विभिन्न स्वरुपहरु परिवर्तन हुँदै आएको देखिन्छ । सुरुवातका दिनमा झण्डा, धुवाँ, कपडा आदिबाट सूचना प्रदान गर्ने गरिन्थ्यो भने सूचना प्रविधिको क्षेत्रमा भएको प्रगति सँगसँगै हवाईसञ्चारमा पनि क्रमिकरुपमा परिवर्तन हुँदै आएको छ । नेपालमा पनि हवाईयातायातको सुरुवात भएको ७० वर्षभन्दा बढी भइसकेको छ । यो अवधिमा नेपालमा पनि हवाईयातायात र हवाईसञ्चारको क्षेत्रमा व्यापक परिवर्तन र सुधार भइसकेका छन् । हवाईयातायातको क्षेत्रमा उडान सुरु हुनुभन्दा अगाडिदेखि नै विभिन्न सञ्चारमाध्यमबाट उडानको क्रममा सम्बद्ध हुने सबै निकायहरुमा सूचना प्रवाह भइसक्नुपर्छ ।
हवाईउडान विभिन्न मुलुक, क्षेत्र र कतिपय अवस्थामा खुला समुद्रमाथि पनि हुने हुँदा उडानलाई सुरक्षित र भरपर्दो बनाउन सबै ठाउँको सही सूचना समयमै प्राप्त हुनुपर्छ । कुनै पनि वायुयान उडानका लागि पाइलटले इञ्जिन सञ्चालन गर्न अनुमति माग्दाको अवस्थादेखि उडान सकिएपछि इञ्जिन बन्द गर्ने सूचना दिने अवस्थासम्म सम्बन्धित मुलुकको आधिकारिक निकायसँग निरन्तर सञ्चारसम्पर्कमा रहिरहनुपर्छ । त्यसैले पनि वायुयानमा कुनै समस्या आउनासाथ तत्काल समस्या समाधान गर्न सहज हुने गर्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले संसारभर उडानमा रहेका वायुयानहरुको सुरक्षित उडानका लागि हवाईसञ्चार सम्बन्धी विभिन्न अनिवार्य अन्तर्राष्ट्रिय मापदण्ड तथा ऐच्छिक सिफारिसहरु तयार गरेको छ, जसको पालना गर्नु सबै देशहरु र वायुसेवाहरुको जिम्मेवारी हुन्छ । उड्डयन सङ्गठनले सञ्चारसम्बन्धी मापदण्डहरु सङ्गठनले स्वीकृत गरेको एनेक्स १० (हवाई दूरसञ्चार) का पाँचवटा विभिन्न भागहरुमा विस्तृतरुपमा लिपिबद्ध गरिएका छन् । हवाईसञ्चारलाई मुख्यतः तीन वर्गमा विभाजन गर्न सकिन्छ :–
क) एक विमानस्थलदेखि अर्को विमानस्थलमा गरिने सञ्चार,
ख) विमानस्थल र वायुयानबीच हुने सञ्चार र
ग) वायुयानहरुबीच हुने सञ्चार ।
सञ्चारको वर्गअनुसार सञ्चार उपकरणहरु पनि फरक पर्छन् भने सञ्चार उपकरणअनुसार सञ्चारको तरिका र विधिमा पनि फरक पर्छ । हवाई यातायात सारा संसारलाई भौतिकरुपमा जोड्ने र समग्र विश्वको आर्थिक, सामाजिक अवस्थामा परिवर्तन ल्याउनुका साथै सुरक्षामा समेत तत्काल असर गर्ने माध्यम बनेको छ । लामो दूरीका अन्तर्राष्ट्रिय उडानहरु भिन्न–भिन्न भाषा बोल्ने पाइलटहरुले विभिन्न भाषा बोल्ने मुलुकहरुको हवाईक्षेत्र भएर उडाउँदा विगतमा स्पष्ट सञ्चारमा भएको कठिनाइले दुर्घटनाहरु पनि भएकोले सुरक्षित हवाई उडान सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डययन सङ्गठनले हवाईउडानमा प्रत्यक्ष संलग्न हुने पाइलट, एयरट्राफिक कण्ट्रोलरका लागि विशेष सञ्चार शब्दावली तयार गरेको र भाषाको कारणले हुने समस्या हटाउन अङ्ग्रेजी भाषालाई हवाईउड्डयन क्षेत्रको आधिकारिक भाषाको रुपमा स्वीकार गरी भाषाको न्यूनतम स्तर पनि तोकेको छ ।
सङ्गठनको यो प्रयासपछि सञ्चारमा प्रयोग हुने शब्दावली र भाषाको कारणले हुने घटनाहरुमा न्यूनता आएको पाइन्छ । सुरक्षित र भरपर्दो हवाईउडानका लागि पाइलट तथा एयरट्राफिक कण्ट्रोलरका अलावा फ्लाइट डिस्प्याचर तथा फ्लाइट इन्जिनियरहरुले पनि उड्डयन शब्दावली र अङ्ग्रेजी भाषामा दक्षता राखेका हुन्छन् । हवाईसञ्चारमा खासगरी एच.एफ., भी.एच.एफ. र यू.एच.एफ. फ्रिक्वेन्सीको प्रयोग भएको पाइन्छ । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा केही दशक पहिलेसम्म मोबाइल फोनको सहज उपलब्धता नभएको अवस्थामा नेपालका दुर्गम पहाडी क्षेत्रमा सञ्चारको भरपर्दो माध्यमको रुपमा एयरपोर्ट टावरमा रहेको एच.एफ. नै थियो ।
मौसमी परिवर्तनले असर गर्ने हुनाले एच.एफ. सञ्चारको गुणस्तर राम्रो नहुँदा विगतमा आन्तरिक उडानको व्यवस्थापनमा अत्यन्त कठिनाइ हुने र एयरपोर्ट टावरका कर्मचारीहरुलाई अधिक भार पर्ने अवस्था थियो । पछिल्लो समय मोबाइल फोनको पहुँच र उपलब्धताका कारण नेपालभित्र आन्तरिक विमानस्थलका कर्मचारीहरु बीचको सञ्चारमा मोबाइल फोनको प्रयोग हुँदै आएको छ, जसले गर्दा उडान व्यवस्थापनमा धेरै सहजता भएको छ भने एयरपोर्ट टावरका कर्मचारीलाई पनि कार्यबोझमा कमी भएको छ ।
अन्तमा, सूचना प्रविधिको उपयोगले हवाईउडानको व्यवस्थापन र सुरक्षामा हालसम्म महत्वपूर्ण योगदान दिँदै आएको छ भने आशा गरौं, यस क्षेत्रमा भविष्यमा हुने विकासले राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाईसञ्चारमा गुणस्तर बढाइ उडान सुरक्षामा मजबुत आधार निर्माण गर्नेछ ।