२०८१ पुष २९ सोमबार

आधुनिक अर्थ–व्यवस्थामा पैसा मानव जीवनका लागि अत्यावश्यक वस्तुका रूपमा स्थापित भइसकेको छ । पैसाले एउटा मानिसको दिनचर्या मात्र हैन, ठूलाठूला महाशक्ति देश र विश्व अर्थतन्त्रलाई समेत वेलावेलामा हल्लाउने गर्छ । संसारमा भएका महासमर देखि अहिले पश्चिमा देशहरूलाई सताइरहेको विश्वव्यापी मन्दी पनि पैसाकै कारण सिर्जित हो ।

यसै सन्दर्भमा व्याप्त आर्थिक मन्दी र सबैजनाले ऋणको भारी बोकिरहेको अवस्थामा १०० को नोटले कति छिटो काम गर्छ र सबै जनालाई ऋणमुक्त पार्छ भन्ने उदाहरण प्रस्तुत गरिएको छ ।

केही महीना पहिलेको कुरा हो– आयरल्याण्ड आर्थिक मन्दीबाट ग्रस्त थियो । त्यहाँका सबै शहर सुनसान थिए । तीमध्ये एउटा सानो शहरमा सिमसिम पानी परिरहेको थियो । मन्दीले रोजगारी गुम्दा त्यो शहरका प्रत्येक व्यक्ति ऋणमा चुर्लुम्म डुबेका थिए । यस्तो दिनमा एक जर्मन पर्यटक सोही शहरमा आइपुगे । उनी एउटा होटल अगाडि सवारी रोकेर होटलभित्र पसे ।

तिनले १०० यूरोको नोट टेबुलमा राख्दै होटल मालिकलाई भने, ‘मलाई यहाँ एक रात बिताउनु छ । त्यसका लागि एउटा कोठा चाहियो ।’ होटल मालिकले खुसी हुँदै चाबीको झुप्पा पर्यटकको हातमा थमाइदिएर माथिल्लो तलामा गएर कोठा छनोट गर्न अनुरोध गरे ।

चाबीको झुप्पो लिएर पर्यटक माथिल्लो तलातिर लागे भने होटल मालिक चाहिँ त्यो १०० यूरोको नोट हातमा लिएर पछाडिको ढोकाबाट मासु पसलेलाई तिर्नु बाँकी बही चुक्ता गर्न हिँडे । होटल मालिकबाट १०० यूरो पाएपछि मासुु पसले बङ्गुर किसानको उधारो तिर्नु बाटो लागे । १०० युरो पाएपछि बङ्गुर किसान पहिले ल्याएको दाना र इन्धनको बक्यौता भुक्तान गरेर ढुक्क भए ।

बङ्गुरको दाना र इन्धन आपूर्तिकर्ताले त्यो १०० यूरोबाट स्थानीय भट्टीमा उधारो खाएको रक्सीको बही चुक्ता गरे । आफ्नो बही उठेपछि भट्टी मालिकले पनि उधारो वेश्यागमन गरेको सम्झे र शहरको वेश्यालयमा तिर्नु बाँकी रकम तिरे । १०० यूरो हात परेपछि वेश्यालय सञ्चालक लामो समय देखि तिर्नु बाँकी होटलतिर लागे । संयोगले त्यो त्यही होटल परेछ, जसमा जर्मन पर्यटक बस्न खोज्दै थिए ।

आफूले तिरेको १०० यूरो सारा शहर एकफन्को लगाएर पुनः आफ्नै हातमा आएपछि होटल मालिकले खुसी हुँदै कन्तुरमा राखे । त्यसको केही क्षणपछि कोठा हेर्न माथि चढेका जर्मन पर्यटक तल ओर्लिएर आफूले खोजेजस्तो उपयुक्त कोठा नभएको भन्दै होटल मालिकसँग पहिला दिएको १०० यूरो फिर्ता मागे । होटलवालाले पनि विनम्रतापूर्वक १०० यूरो फर्काइदिए । पर्यटक अर्को शहरतिर हान्निए ।

ती पर्यटकले होटल मालिकलाई दिएको १०० यूरोबाट न केही उत्पादन गरेको न कसैले केही कमाएको देखिन्छ । तर यो घटनामा साँच्चै कसले केही उत्पादन गरेनन् वा कसैले केही कमाएनन् भन्नु अन्यथा हुन्छ । किनभने, त्यो १०० यूरोबाट बङ्गुर किसानले पुरानो ऋण तिरे । अब उनले पुनः उधारोमा दाना र इन्धन खरिद गरेर थप बङ्गुर उत्पादन गर्न सक्छन् र होटल तथा रेस्टुराँमा मासु आपूर्ति हुन्छ ।

तर त्योभन्दा बढी १०० यूरोको एउटा नोटबाट छोटो समयमै थुप्रै शहरवासी ऋणमुक्त भए । व्यावसायिक चक्र यसरी चलिरहन्छ । तर, यो अवस्था निकै असहज हो र यसलाई ऋणको धराप (डेब्ट ट्रयाप्) भनिन्छ । यस्तो असहज अवस्थामा, कुनै एउटा व्यक्तिले ऋण तिर्नु सकेन वा चाहेन भने स्थिति भयावह बन्न पुग्छ । तर, यस घटनामा १०० यूरोको क्रम बिग्रिएन र जर्मन पर्यटकले आफ्नो रकम फिर्ता पाए ।

पैसाले कसरी काम गर्छ र मानव जीवनलाई सहज बनाउँछ भन्ने यो सानो उदाहरण मात्र हो । संसारमा यस्ता उदाहरण अनगिन्ती हुनसक्छन् । यसको सन्देश पैसाको उचित व्यवस्थापन गर्न सक्नुपर्छ र आयरल्याण्डको जस्तो अवस्था आउन दिनुहुँदैन भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर