काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बिमितको आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा दिँदै जीवन श्री सावधिक अमृत बिमालेख नामक नयाँ सावधिक बिमा योजना ल्याएको छ ।
कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले उक्त बिमालेख शुभारम्भ गर्नुभएको हो । बिमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बिमांकको नौ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतका रूपमा उपलब्ध हुने बिमालेखबाट बिमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बिमांक रकम र आर्जित बोनसले आफू र आफूप्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने बताइएको छ ।
उक्त बिमालेखबाट बिमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुनुका साथै बचत र सुरक्षा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । आयस्रोतअनुसार ५० हजारदेखि माथिसम्मको बिमा गर्न सकिने योजनामा सहभागी बिमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एकमुष्ठ बिमांक र बोनस प्राप्त हुने बताइएको छ ।