२०८१ माघ २७ आईतवार

समग्रमा वित्तीय स्थायित्व एक फराकिलो अवधारणा हो जसले वित्तीय क्षेत्रको पूर्वाधार, संस्था तथा बजार आदि सबै पक्षलाई समेट्छ । वित्तीय स्थायित्व कुनै एउटा समयमा कायम हुनुपर्नेभन्दा पनि निरन्तर भइराख्नु पर्ने विषय हो । त्यसैले यस विषयलाई विश्वभर महत्वपूर्ण मानिएको छ र नियामक निकायहरू यस विषयलाई निरन्तर अनुगमन गरिरहेका हुन्छन् । सामान्यतया वित्तीय स्थायित्वले वित्तीय संस्थाहरूले वित्तीय उपकरणहरूको माध्ययमबाट सहज रूपमा वित्तीय मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न सक्दछन् । मूलभूत रूपमा वित्तीय स्थायित्व कायम हुँदा निम्न तीनवटा अवस्था रहन्छन् :

– प्रभावकारी तथा सहज रूपमा बचतकर्ताहरूबाट लगानीकर्तासम्म स्रोत पुग्ने ।
– भविष्यमा देखा पर्न सक्ने वित्तीय जोखिमहरूको मापन गर्ने संयन्त्रको विकास भइसकेको तथा यस्ता जोखिमको असर न्यूनीकरण गर्न वित्तीय क्षेत्र तयार रहेको ।
– भविष्यमा देखा पर्न सक्ने आर्थिक तथा अन्य जोखिमहरूको असर वित्तीय क्षेत्रमा आएमा वित्तीय क्षेत्रले सहजै सो जोखिमहरू सोचन गर्न सक्ने अवस्था ।

वित्तीय स्थायित्वको आवश्यकता
विश्वका अर्थतन्त्रहरूको अवस्था हेर्ने हो भने वित्तीय क्षेत्रको विकासले समग्र अर्थतन्त्रकै विकासमा टेवा पु¥याएको देखिन्छ । स्थिर वित्तीय क्षेत्रले समग्र अर्थतन्त्रको दिगो विकासका लागि स्रोत र साधनहरूको व्यवस्थापन, पहुँच तथा लगानीको वातावरणको सिर्जना गरी जोखिमलाई प्रसोचनसमेत गर्दछ । यसकारण स्वस्थ, स्थायी, विश्वासिलो तथा प्रतिस्पर्धी वित्तीय क्षेत्रले स्रोत तथा साधनको प्रभावकारी वितरण तथा बाँडफाँड गरी अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्दछ । वित्तीय क्षेत्रमा अस्थिरता देखा परेमा वित्तीय मध्यस्तकर्ताको भूमिकामा विश्वास घट्दै गई स्रोत र साधनको पहुँचमा समस्या आउने गर्दछ ।

फलस्वरूप बेरोजगारी, आर्थिक मन्दी, मूल्य अस्थिरता जस्ता समस्याहरू आउन सक्छन् । तसर्थ वित्तीय क्षेत्रमा अस्थिरता देखिएको खण्डमा अर्थतन्त्रलाई निकै ठूलो भार पर्ने भएको हुँदा नियामक निकायहरूले वित्तीय क्षेत्रको स्थायित्व कायम राख्न हरसम्भव प्रयास गरिरहेका हुन्छन् । वित्तीय स्थायित्वको मापन गर्नका लागि विभीन्न सूचकाङ्कहरूको सहयोग लिने गरिन्छ । यस सम्बन्धमा अन्तर्राष्ट्रिय मुद्रा कोषले वित्तीय सुदृढता परिसूचकहरू (Financial Soundness Indicators) निर्धारण गरेको छ । यस्ता सूचकहरूको माध्यमबाट वित्तीय क्षेत्रमा आउन सक्ने सङ्कटलाई प्रक्षेपण गरी क्षति न्यूनीकरणका प्रयास गर्न सकिन्छ ।

वित्तीय स्थायित्वका सूचकाङ्कहरू
अन्तर्राष्ट्रिय मुद्रा कोषले वित्तीय क्षेत्र स्थायित्व मापन गर्नका लागि जारी गरेको वित्तीय सुदृढता परिसूचकहरूका लागि Financial Soundness Indicators Compilation Guide जारी गरेको छ । सो मार्गदर्शनका अनुसार बचत तथा निक्षेप सङ्कलन गर्ने वित्तीय संस्थाहरूका लागि पुँजी पर्याप्तता, तरलता, आय तथा आम्दानी, सम्पत्तिको अवस्था तथा बजार जोखिमको संवेदनशीलता मापन गर्नुपर्ने र सोको लागि विभिन्न सूचकहरू समेत जारी गरेको छ । यसै गरी, सोही मार्गदर्शनले गैरबैंकिङ वित्तीय संस्थाहरूका लागि समेत विभिन्न वर्गमा सूचकहरूबारे सुझाव दिएको छ ।

नेपालको सन्दर्भमा वित्तीय स्थायित्वको अवस्था
नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा ४(१) को खण्ड (ख) मा बैंकको उद्देश्यअन्तर्गत वित्तीय स्थायित्वसम्बन्धी निम्नबमोजिमको नीतिगत व्यवस्था रहेको : “वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने ।” यसैको अधीनमा रही नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम गर्नका निम्ति समय समयमा नीति, नियम तथा परिपत्रहरू जारी गर्ने गरेको । नेपालको सन्दर्भमा वित्तीय स्थायित्वको सूचकाङ्कहरू हेर्न Financial Stability Oversight Committee तथा Financial Stability Sub-committee गठन गरिएको छ भने वित्तीय स्थायित्व इकाईले वित्तीय सूचकहरूको निरन्तर अनुगमन गर्दै आएको छ । नेपालमा समेत अन्तराष्ट्रिय मुद्रा कोषले सुझाएको वित्तीय सुदृढता परिसूचकहरूकै सेरोफेरोमा रही वित्तीय स्थायित्व मापन गर्ने गरिएको छ ।

अबको बाटो
नेपाल राष्ट्र बैंकको मुख्य उद्देश्यमध्ये एक वित्तीय स्थायित्व कायम गर्ने रहेको सन्दर्भमा विद्यमान समसामयिक निम्न विषयहरूमा समेत ध्यान पुर्‍याउनु पर्ने देखिन्छ :
– बैंकिङ क्षेत्रको विकाससँगै बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्घि हुँदा केही विकृतिहरू देखा परेको र अस्वस्थ प्रतिसपर्धा बढेको हुँदा बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने व्यवस्थालाई प्रोत्साहन गरिने नीति बैंकद्वारा अपनाइएको सन्दर्भमा सो नीतिले मूलभूत रूपमा वित्तीय सुदृढीकरण गरी बैंकको जोखिम बहन गर्न सक्ने क्षमता विकासमार्फत वित्तीय स्थायित्वमा मद्दत पुग्ने हुँदा गाभ्ने तथा गाभिने प्रवृतिलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको ।
– वित्तीय पहुँचको अवस्था अझ फराकिलो भएमा सर्वसाधारणमा वित्तीय स्वतन्त्रता सबलताको विकास भई वित्तीय क्षेत्रका स्रोतहरू उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने र यसबाट अर्थतन्त्र चलायमान हुन गई वित्तीय स्थायित्वमा मद्दत पुग्ने हुँदा वित्तीय पहुँचलाई फराकिलो पार्न आवश्यक रहेको ।
– आउँदा दिनमा समग्र वित्तीय क्षेत्र तथा सोका उपकरणहरूमा नवीनता ल्याउन आवश्यक देखिएको छ । नवीनतम विधि तथा उपायहरूले गर्दा वित्तीय उपकरणहरूको विकास भई सबल तथा सुरक्षित तबरवाट कारोवार गर्न तथा वित्तीय क्षेत्रमा विश्वास बढ्ने हुँदा समग्र वित्तीय क्षेत्रलाई स्थायित्व प्रदान गर्न मद्दत पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय