२०८२ माघ १ बिहीबार

काठमाडौं – जेनजी आन्दोलनका क्रममा आगजनी भएर ध्वस्त भएको ‘हिल्टन काठमाडौं’ पुनर्निर्माणको प्रक्रिया सुरु भएको छ। करिब ८ अर्ब रुपैयाँ लगानीमा शंकर समूहले निर्माण गरेको उक्त होटल सञ्चालनमा आएको एक वर्ष नपुग्दै गत भदौ २४ गते आगजनीमा परेपछि बन्द थियो। समूहले एक वर्षभित्रै होटललाई पुरानै अवस्थामा फर्काएर सञ्चालनमा ल्याउने तयारी गरेको छ।

बीमाबाट करिब ४ अर्ब रुपैयाँ दाबी भुक्तानी हुने भएपछि पुनर्निर्माण प्रक्रिया तीव्र बनाइएको हो। प्रारम्भिक अध्ययनले संरचनागत रूपमा ठूलो समस्या नदेखाएकाले उक्त रकम पुनर्निर्माणका लागि पर्याप्त हुने समूहको भनाइ छ।

होटलको संरचना मूल्यांकन लागि जापानी इन्जिनियरिङ फर्म मियामोतोसँग अध्ययन गराइएको हो। जसको प्रतिवेदन आगामी सातामै प्राप्त हुने बताइएको छ। त्यसपछि सन् २०२६ को सुरुवातदेखि निर्माणले गति लिने जनाइएको छ।

बीमा दाबी भुक्तानीअन्तर्गत दुई पुनर्बीमा कम्पनी र एक निर्जीवन बीमा कम्पनीबाट करिब ४ अर्ब रुपैयाँ आउनेछ। हिमालयन रिइन्स्योरेन्सले २ अर्ब २५ करोड, नेपाल रि इन्स्योरेन्सले ७५ करोड र ओरियन्टल इन्स्योरेन्सले १ अर्ब रुपैयाँ भुक्तानी गर्नेछन्। होटलले बैंकहरूबाट लिएको ५ अर्ब २ करोड रुपैयाँ ऋणबराबरको मात्र बीमा गरिएको थियो।

प्रारम्भिक अध्ययनअनुसार भूकम्प प्रतिरोधात्मक बाह्य संरचनामा आंशिक क्षति पुगेको छ। आगजनीका क्रममा केही संरचनात्मक भाग फुटेको र माथिल्लो तलामा तुलनात्मक रूपमा बढी क्षति देखिएको छ।

कुल लगानीमध्ये करिब ७० प्रतिशत बैंक ऋण रहेको यस होटलमा नौ वटा बैंक नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, नेपाल एसबीआई, नबिल, प्रभु, माछापुच्छ्रे, नेपाल बैंक, कृषि विकास र मुक्तिनाथ विकास बैंकको ५०२ करोड रुपैयाँ ऋण लगानी छ। बाँकी करिब ३ अर्ब रुपैयाँ प्रवर्द्धकको इक्विटी लगानी हो।

२०७३ मा निर्माण घोषणा हुँदा साढे ३ अर्ब रुपैयाँ अनुमान गरिएको लागत बढ्दै करिब ८ अर्ब पुगेको थियो। नक्सालस्थित काठमाडौंकै अग्लो मानिने यस होटलमा १७४ कोठा, रुफटप बार, ब्यांक्वेट हल, स्पा, अल–डे डाइनिङ रेस्टुरेन्ट र हिटेड आउटडोर स्वीमिङ पुललगायत सुविधा थिए। २०८१ साउनदेखि पूर्ण रूपमा सञ्चालनमा आएको होटल गएको भदौमा भएको आगजनीपछि बन्द छ।

अमेरिकी अन्तर्राष्ट्रिय होटल चेन ‘हिल्टन’को नेपालमा पहिलो प्रवेशका रूपमा सञ्चालनमा आएको हिल्टन काठमाडौंले भारतीय उपमहाद्वीपमा ब्रान्ड विस्तारको महत्वपूर्ण कोसेढुंगा हुने दाबी गरिएको थियो। तर आगजनीपछि नेपालमा लगानी सुरक्षाबारे अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश गएको छ। जसका कारण पर्यटन व्यवसायी र लगानीकर्तासमेत त्रासमा छन्।

हिल्टन काठमाडौंले नेपालमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवाको पहिचान बनाएको थियो। नक्सालस्थित काठमाडौंकै अग्लो मानिने यस होटलबाट लाङटाङ हिमश्रृंखलासहित उपत्यकाको विस्तृत दृश्य अवलोकन गर्न सकिन्थ्यो।

भुइँदेखि छतसम्म सिसाले ढाकिएको आधुनिक संरचनाले प्राकृतिक प्रकाशलाई अधिकतम प्रयोग गरेको थियो भने बाहिरी भागमा प्रयोग गरिएका ठाडा सिसाका प्यानलहरूले प्रकाशसँगै रङ परिवर्तन गर्ने विशेषता राख्थे।

होटलमा लक्जरी कोठादेखि प्रेसिडेन्सियल सुइटसम्मका १७४ वटा कोठा थिए। प्रत्येक कोठाबाट हिमाल, सहर र खुला आकाशको दृश्य देखिने गरी डिजाइन गरिएको थियो। जर्मन प्रविधिमा आधारित भूकम्प प्रतिरोधात्मक उपकरण जडान गरिएकाले संरचनात्मक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको थियो।

हिल्टन काठमाडौंका रेष्टुरेन्ट र बारहरू पनि यसको प्रमुख आकर्षण थिए। स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्म पस्कने पाँचवटा डाइनिङ भेन्यु सञ्चालनमा थिए। १३औँ तलामा रहेको ‘आशा’ रेष्टुरेन्टमा प्रत्यक्ष कुकिङ स्टेसनको व्यवस्था थियो भने ओरियन रुफटप बारबाट दिन र रातको सहर दृश्य अवलोकन गर्न सकिन्थ्यो। छतमा तापक्रम नियन्त्रित स्वीमिङ पुल, पूल बार र सन-लाउन्जरको सुविधा थियो।

होटलमा अन्तर्राष्ट्रिय सम्मेलन, विवाह तथा व्यावसायिक कार्यक्रमका लागि आधुनिक ब्यांक्वेट हलहरू तयार गरिएको थियो। आन्तरिक सजावटमा नेपाली ढाका र समकालीन नेपाली डिजाइन समावेश गरी स्थानीय सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय शैलीसँग संयोजन गरिएको थियो। कर्मचारीको पोशाकदेखि अतिथि कक्षसम्म नेपालीपन झल्कने सजावट देखिन्थ्यो।

वातावरणमैत्री अवधारणालाई समेत प्राथमिकतामा राखिएको थियो। होटल परिसरमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन, ऊर्जा-दक्ष प्रणाली र ग्रीन फ्लीटको प्रयोग गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलोमिटर दूरीमा रहेको होटल ठमेल, दरबारमार्ग र नारायणहिटी संग्रहालयजस्ता प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्रसँग सहज पहुँचमा थियो।

हिल्टनको अन्तर्राष्ट्रिय ‘हिल्टन अनर्स’ लोयल्टी कार्यक्रमअन्तर्गत डिजिटल चेक-इन, कोठा छनोट, सजिलो भुक्तानी प्रणाली र एक्जुकेटिभ लाउन्ज पहुँचजस्ता सेवा उपलब्ध थिए। यी विशेषताका कारण हिल्टन काठमाडौं नेपालकै सबैभन्दा आधुनिक, सुरक्षित र प्रतिष्ठित लक्जरी होटलमध्ये एकका रूपमा स्थापित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर