२०८२ मंसिर १३ शनिबार

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आजभोलि सगरमाथा तथा अन्य हिमशृङ्खलाहरू अवलोकन गर्न आउने पर्यटकहरूको आगमनको चाप बढेसँगै दैनिक रुपमा हवाईजहाजले मात्र ६० भन्दा बढी उडान भर्दै आएको छन् भने हेलिकप्टर सहित करिब १६० भन्दा बढी उडान हुन भइरहेको छ ।

मध्य सिजनमा मौसम प्रतिकूलताका कारण प्रभावित बनेको सोलुखुम्बुको माथिल्लो क्षेत्रको पर्यटन मौसममा सुधार आएसँगै चलायमान भएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरूको अवलोकन गर्न आउने पर्यटकहरूको चाप बढेको छ । अहिले मौसम सफा भएपछि केही दिनदेखि रोकिएर रहेका हजारौँ पर्यटकको चाप एकै पटक परेपछि उडानको चाप बढेको हो ।

मङ्गलवार तारा एयरलाइन्सले, सीता एयरलाइन्स, समिट एयरलाइन्सका हवाइजहाजले मात्र ८० उडान गरेको र विभिन्न कम्पनीका हेलिकप्टरहरूले २०० बढी उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो । उहाँकाअनुसार बुधबार हवाइजहाजले ६० र हेलिकप्टरले १०० भन्दा बढी उडान गरेका छन् ।

बेमौसमको वर्षाको समाप्तिसँगै भएको पर्यटकको ओहोरदोहोरले हवाई उडान बढेको हो । यो सिजन कात्तिक महिनाभरि चल्ने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । हवाई मार्गबाट मात्र दैनिक १५०० पर्यटकको आवतजावत हुनेगरेको छ । अहिले सिजनको मध्ये समय भएको उनीहरूको भनाइ छ । हवाई मार्ग बाहेक यहाँका पदमार्गमा पनि बाह्य पर्यटकहरूको आवातजावत बढेको छ ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरूलाई पर्यटक दर्ता गर्न भ्याई नभ्याई भएको कार्यालयले जनाएको छ । पदमार्ग र हवाई मार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरूको जोरसल्ले प्रवेश द्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय