
काठमाडौ । अर्थमन्त्रालयले रकम निकासा नगरेको भन्दै बीमा कम्पनीहरूले कोरोना बीमा दाबी भुक्तानी ठप्प बनाएका छन् । गत वर्षबाट सुरु भएको कोरोना बीमा कार्यक्रम पनि यही असार मसान्तमा सकिँदैछ ।
कोरोना संक्रमितलाई लक्षित गर्दै आकर्षक बीमा कार्यक्रम ल्याएपछि लाखौं मानिस यसमा जोडिएका थिए । संक्रमितको संख्या ह्वात्तै बढ्दा कम्पनीहरूले हात उठाएर यसको आर्थिक व्ययभार सरकारले बोकेको छ । तर, केही समयदेखि सरकारले पनि पैसा नदिएको भन्दै कम्पनीहरूले भुक्तानी गरेका छैनन् ।
अहिले बीमाको बक्यौता रकम ५ अर्ब नाघेको छ । नेपाल बिमक संघको तथ्याङ्कअनुसार गत जेठ महिना सम्ममा ३
अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको थियो । यसमा सरकार मातहतको बीमा समितिको एक अर्ब रुपैयाँ छ भने बाँकी पैसा बिमक संघ र बीमा कम्पनीहरुको हो । साढे तीन अर्बभन्दा बढीको दावी पर्न आए सरकारले नै बहन गर्ने भनेको थियो ।
तर, अहिलेसम्म अर्थमन्त्रालयले एक पैसा पनि नदिएको कम्पनीहरूले बताएका छन् । रकम भुक्तानीका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा पत्र पठाइसकेको अहिलेसम्म सरकारबाट एक रुपैयाँ पनि भुक्तानीका नआएको बताइएको छ । अहिले कोरोना बीमावापत ५ अर्ब ७८ करोड ६ लाख रुपैयाँ विमितलाई भुक्तानी गर्न बाँकी छ ।