२०८१ मंसिर २३ आईतवार

तिलकराज पाण्डे नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको करिब १० महिना भएको छ । लामो समय ऋण विभागमा बसेका उनी विकास बैंक हुँदै पुनः नेपाल बैंकको व्यवस्थापकीय नेतृत्वमा फर्किएका हुन् । देश आर्थिक मन्दीबाट गुज्रिरहेको यो समयमा आम उपभोक्ता, व्यवसायी, लगानी– कर्तामा एक प्रकारको निराशा छ । त्यो निराशा चिर्न किन सकिरहेको छैन ? आर्थिक मन्दीबाट पार पाउन अबको बाटो के हुन सक्छ ? यिनै विषयमा केन्द्रित रहेर कर्पोरेट खबरका लागि भोजराज भण्डारीले सिइओ पाण्डेसँग गरेको कुराकानी सान्दर्भिक ठानेर साभार प्रस्तुत गरिएको छ :

तपाईंले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी सम्हालेको करिब एक वर्ष नजिक पुग्न लाग्यो, यो एक वर्षको यात्रालाई कसरी सम्झनुहुन्छ ?
मैले नेपाल बैंकको कार्यकारी भूमिकामा रहेर काम गरेको दस महिना पूरा भएको छ । यो बीचमा आफूले गर्न सक्ने योगदान र भूमिकालाई सकेसम्म न्याय गरेको छु भन्ने लाग्छ । अहिले नेपालको अर्थतन्त्रले त्यति सकारात्मक ढंगबाट गति लिन सकेको छैन । यस पछाडिको कारण भनेको विश्व अर्थतन्त्र नै यतिबेला संकुचनको अवस्थाबाट गुज्रिनु पर्नाले हो, त्यसको बाछिटा नेपालको अर्थतन्त्रमा परेको हुँदा हामी पनि अर्थतन्त्रबाट माथि उठ्न सकेका छैनौं । विश्व अर्थतन्त्रदेखि नेपालको अर्थतन्त्र बलियो हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरू पनि औसत अवस्थामा छन् ।
त्यहीअनुरूप नेपाल बैंकको नाफा पनि औसत नै रह्यो । अहिलेको अवस्थाबाट बजारमा जति गर्न सकिन्छ त्यति गरेका छौं । नाफामा हामीले उल्लेख्य सुधार गरेको भए पनि छलाङ नै मार्न भने सकिएको छैन । त्यसको कारण भनेको देशको समग्र आर्थिक कारण नै हो । अहिले उद्योगी व्यवसायीहरूको उत्पादन र माग दुवै घटेको छ । उनीहरू लगानी बढाउन सक्ने अवस्थामा छैनन् । निर्माण व्यवसायीहरूले भुक्तानी नपाएको अवस्था छ । यस्ता विभिन्न कारणले गर्दा हामीले सन्तोषजनक मात्र सक्यौं भन्ने मलाई लाग्छ । त्यही भएर त्यति उत्साहित भइहाल्नु पर्ने अवस्था छैन । हामीसँग बलियो जनशक्ति छ । ७५ प्रतिशत काम प्रविधिमा आधारित भएर गरेका छौं । ‘नेटवर्थ’ राम्रो छ, ‘बेस रेट’मा सातौं ‘पोजिसन’बाट ५ मा झरेका छौं । ‘सर्भिस’ एकदम सन्तोषजनक छ । समग्रमा हामी सन्तोषजनक अवस्थामा छौं भन्ने मलाई लाग्छ ।

अहिले देश आर्थिक मन्दीमा छ । बैंकसहित सबैजसो क्षेत्रमा निराशा छ, यो अवस्थाबाट हामी कसरी अघि बढ्न सक्छौं ?
यो हाम्रो देशको आन्तरिक चुनौती मात्र होइन । विश्व अर्थतन्त्रमै मन्दीको असर देखा परेको छ । नेपालमा अर्थतन्त्रको मन्दी लम्बिरहनुमा लामो समयदेखिको रूस–युक्रेन युद्ध र हमास–इजरायल द्वन्द्व पनि कारक हुन् । यिनले प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव पारेका छन् । युद्धरत देशहरूबाट कच्चा पदार्थहरू ल्याउने, प्रशोधन गर्ने उद्योगहरू अहिले समस्यामा छन् । विभिन्न तेलका उद्योगहरू, सिमेन्ट उद्योगहरूमा उत्पादनदेखि मूल्यसम्ममा यसले प्रभाव पारेको छ । अर्थतन्त्रको मेरूदण्ड मानिएका यस्ता उद्योग कलकारखानाहरूमा युद्धको प्रभावले लगानी गर्ने, उत्पादन बढाउने र त्यहीअनुसार माग नहुँदा उत्साह घट्दो छ । मन्दीको अवस्थाबाट पार पाउनका लागि सबैको हातेमालो आवश्यक छ ।
अहिले जता पनि निराशा मात्र बाँडिएको छ । यसले हामीलाई झनै मन्दीतर्फ धकेल्छ । यो समयमा जिम्मेवार निकायहरूबाट ‘पोजेटिभ’ कुरा मात्र आउनुपर्ने ठाउँमा त्यस्तो केही छैन । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमले पनि निराशा मात्र बाँडिरहेका छन् । केही हुँदैन भन्ने भाष्य बनाइएको छ । यो एकदम गलत हुँदैछ । केही हुन्छ भन्ने आशा जगाउने गरी आम लगानीकर्ता र व्यवसायीको मनोबल बढाउनुपर्छ । आत्मविश्वास नै अहिलेको मन्दीको सबैभन्दा अचुक औषधि हो । राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने पनि राम्रो नै छ । विदेशी मुद्रा सञ्चिति ठीक अवस्थामा छ । व्यापार घाटा आत्तिहाल्नु पर्ने अवस्थामा छैन । मात्र कमी आत्मविश्वासको छ ।

अहिलेको आर्थिक मन्दीका बाबजुद पनि नेपाल बैंकको नाफामा उलेख्य सुधार आएको छ । नेपाल बैंकको मात्र होइन, अन्य वाणिज्य बैंकहरूको वित्तीय विवरण पनि सकारात्मक नै छ, यो चाहिँ कसरी सम्भव भयो ?
अहिलेको आर्थिक अवस्थाबीच पनि वाणिज्य बैंकहरूको नाफामा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा केही सहजता ल्याएपछि बैंकहरूले कर्जाको ब्याजदर घटाउनु यसको कारण हो । यसले कर्जा प्रवाह बढाएको छ । अर्कोतर्फ गत आर्थिक वर्षको असारमा खुद ब्याज आम्दानी पनि थपिएको छ । यसले सकारात्मक नतिजा ल्याएको हो । गत सालका केही कर्जाहरू पनि राम्रा छन् । त्यस्तै हामीले सबैभन्दा धेरै असुलीमा ध्यान दिएका छौंं, जसले गर्दा केही राम्रो पक्कै भएको हो तर उत्साहित भइहाल्ने अवस्था छैन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा करिब १८.५२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको औसत खराब कर्जा ३.५१ प्रतिशत थियो । चालु आर्थिक वर्षमा ४.०५ प्रतिशत पुगेको देखिन्छ । नेपाल बैंककै हकमा ३.९५ प्रतिशत रहेको छ । किन यो खराब कर्जा बढिरहेको छ ?
यो सत्य हो । पछिल्लो समय आर्थिक मन्दीले गर्दा बैंकहरूमा कर्जा असुलीमा समस्या आइरहेको छ, जसले खराब कर्जा बढ्दै गएको हो । चाहेर वा नचाहेर पनि भन्नै पर्ने हुन्छ, उद्योगी व्यापारी सानाठूला सबैको केही कर्जाको केही प्रतिशत रकम रियलसेक्टर अर्थात् घरजग्गा जस्ता क्षेत्रमा गएको छ । यो क्षेत्र अहिले संकुचन अवस्थामा छ । राष्ट्र बैंकले सहुलियत दिएको छ । सरकारले कित्ताकाटदेखि घरजग्गा क्षेत्रलाई चलायमान बनाउन खोजेको छ । केही सुधार पनि भएका छन् तर पनि बढिरहेको छ । त्यति गर्दा पनि रियलसेक्टर चलायमान बन्न सकेको छैन । यी क्षेत्रहरू चलायमान नहुन्जेल खराब कर्जा घट्न गाह्रो छ ।

अहिले कर्जा प्रवाह हुन सकेको छैन, प्रणालीमा हेर्ने हो भने करिब ७ खर्बभन्दा माथि निक्षेप थुप्रिएको अवस्था छ, कहाँ सुधार गर्न आवश्यक छ जस्तो लाग्छ ?
यसलाई समग्र रूपमा हेर्नुपर्ने हुन्छ । अहिलेको माहोलमा लगानीको वातावरण छ कि छैन भन्ने कुराले अर्थ राख्छ । अहिले लगानी गर्ने लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा छन् । उद्योगी व्यवसायीहरूको उत्पादनअनुसारको माग बढ्न सकेको छैन । भएको उत्पादन पनि एकदम थोरै मात्र सप्लाई भएका छन् । अहिलेको मन्दीबाट उठ्नका लागि थोरैमा पनि ७५ प्रतिशत उद्योगहरूले वस्तुहरू उत्पादन र ‘सप्लाई’ गर्न थाले भने मात्र बैंकमा पनि कर्जा त्यहीअनुसार प्रयोगमा आउँछ । उद्योगहरूको व्यापार ‘एमाउन्ट’मा मात्र घटेको छ, ‘भोल्युम’मा घटेको छैन ।
अन्य स्टिलहरूको उत्पादनको अवस्था पनि त्यस्तै छ । अलि चलामान भइरहेको जलविद्युत क्षेत्र हो । त्यो पनि असोज दोस्रो साताको अविरल वर्षाले राम्रा उत्पादन दिने कम्पनीमा क्षति पुगेको छ । नयाँ कर्जा माग हुन नसक्नुमा लगानी गर्ने आँट गर्न नसक्नु र लगानीकर्ताहरूमा आत्मविश्वास बढ्न नसक्नु नै प्रमुख कारण हुन् । नेपाल सरकारका ‘पोलिसी’हरू, नेपाल राष्ट्र बैंकका पदाधिकारीहरू र हामी आफै बैंकरहरू पनि त्यति आक्रामक रूपमा कर्जा प्रवाह गर्न सकिरहेका छैनौं । हामी पनि ‘पर्ख र हेर’को अवस्थामा छौं । स्थापित भइसकेका उद्योगमा लगानी गर्दा जोखिम कम हुन्छ । अहिलेको अवस्थामा नयाँ क्षेत्रमा लगानी गर्दा जोखिम बढी हुन्छ । त्यसमा पनि उत्तिकै सचेत हुन आवश्यक छ ।

तिबेला देशमा दुई तिहाइको सरकार छ । काम गर्न कुनै अवरोध छैन । तीनचार पटक अर्थ मन्त्रालय सम्होलका अर्थमन्त्री छन् । यस्तो बेलामा लगानीको वातावरण झनै बढ्नुपर्ने हो । तर, कर्जा प्रवाह किन सुस्त छ ? खास समस्या कहाँनेर बढी देख्नुहुन्छ ?
यो समय साँच्चिकै उत्साहित हुनुपर्ने हो । लगानी कम हुनुपर्ने अवस्था नै होइन । बाहिरको अर्थतन्त्र यस्तो छ, हामी पनि यस्तो भनेर बस्ने अवस्था पनि छैन । अहिलेको अवस्थामा लगानी बढ्ने नबढ्ने बाहिरको भूमिका प्रमुख हो । जिम्मेवार सञ्चारमाध्यमहरूले निराशा मात्र बाँड्नु भएन, आशा बाँड्नु प¥यो । सरकारले पनि लगानीको वातावरण बढाउने प्रयासमा गरिरहेको छ । राष्ट्र बैंकले पनि सहुलियत दिइरहेको अवस्था छ । मौद्रिक नीतिले कसिलो नीतिलाई खुकुलो पारेर हरेक क्षेत्रमा कर्जा लगानी गर्नका लागि विभिन्न सुविधाहरू दिइरहेको छ । तर, आम नागरिकमा आत्मविश्वास बढाउन सकेकै छैन । नयाँ लगानी गर्ने ठाउँ छन् । ‘अप्सन’हरू छन् । ब्याजदर एकल अंकमा आएको छ । मलाई लाग्छ, अब योभन्दा तल जाँदैन । उद्योगीहरूलाई सजिलो हुने ठाउँमा छौं हामी ।

अलिकति गहिराइमा पुग्ने हो भने अहिले सहकारीमा समस्या आएर पनि यस्तो देखिएको हो कि भन्ने मलाई लाग्छ । अर्थतन्त्रको त्रिखुट्टीमध्येको एक खुट्टी भनेर सरकारले जुन व्यवस्था गरेको थियो, साँच्चिकै अर्थतन्त्रको ठूलो पोषण सहकारीले थामेको रहेछ भन्ने अहिले आएर पुष्टि भएको छ । बैंक तथा वित्तीय संस्थाले मात्र चाहेर नहुने रहेछ, सहकारीको आवश्यकता अहिले नभई नहुने देखियो । यसले घरजग्गा कारोबारदेखि साना मझौला व्यवसाय गर्नमा समेत भूमिका खेल्थ्यो । बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढ्थ्यो । उदाहारणका लागि, कुनै एउटा व्यक्तिसँग २० लाख रूपैयाँ छ भने उसले एक करोडको घर किन्न खोज्दो रहेछ । बैंकले ७० लाखसम्मको कर्जा दिन सक्छ । उसले २० लाख हाल्दा ९० लाख भयो ।

१० लाख पुग्दैन, त्यसबेला सहकारीबाट ल्याउने गरिँदो रहेछ । सहकारीले त्यसको पुँजी पनि हेर्दैथ्यो । अरू कुनै सम्पत्ति राखेर वा नराखेर उसले सहकारीबाट ऋण ल्याउँथ्यो । एउटा घर बिक्री हुन्थ्यो, बैंकबाट कर्जा लगानी हुन्थ्यो । उसले त्यस घर भाडामा लगाएर वा अन्य कुनै माध्यमबाट बेलाबेला बैंकको किस्ता पनि तिर्थ्यो । अहिले सहकारीले लगानी गर्न सक्ने अवस्था छैन । सहकारीको ‘डिपोजिट’ अहिले बैंकमा पनि केही थुप्रिएको छ । जसमा केही निक्षेप सहकारीको पनि हो । सहकारीमा समस्या आएपछि आत्तिएर बरू बैंकमा थोरै ब्याज भए पनि सुरक्षित छ भनेर राख्नेहरू पनि छन् । बिस्तारै सहकारीहरू चलायमान बन्न थाले भने ‘रियलसेक्टर’हरू पनि चलायमान हुन्छन् । बैंकबाट कर्जा पनि असुल हुन्छ ।

सहकारीमा समस्या विकराल भएको छ, अर्बौं रूपैयाँ बाहिरिएको छ, घरजग्गा, शेयर बजारलगायतमा फसेको देखिन्छ । यसबाट लयमा फर्किने सम्भावना छ र ?
सहकारीमा समस्या छ । तर, समाधान पनि छन् । सरकारले यसलाई विभिन्न कोणबाट सञ्चालनमा ल्याउनका लागि अध्ययन गरिरहेको छ । फेरि सबै सहकारीमा समस्या होइन, शहरकेन्द्रित सहकारी अलि बढी समस्यामा छन् । स्थानीयस्तरबाट सञ्चालनमा आएका सहकारीहरू राम्ररी चलेका पनि छन् । त्यसैले यसलाई सुधार गरेर लान सकियो भने फेरि सकारात्मक हुने सम्भावना नहुने भन्ने हुँदैन ।

नेपाल बैंकको पछिल्लो ५ वर्षमा लाभांश दिने क्षमतालाई हेर्ने हो भने त्यति सकारात्मक देखि“दैन । यो वर्ष पनि ‘रिपोर्ट’अनुसार उत्साहित हुन सक्ने अवस्था देखि“दैन । कतै व्यवस्थापनमा कमजोरी पो भएको हो कि ?
गतवर्ष नेपाल बैंकले ३४२ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो । तर पनि शेयरधनीहरूलाई नाफा बाँड्न सकिएन । गत सालको आम्दानी खर्चमा समावेश हुने गरी सरकारले ७÷८ वर्ष पहिला ‘एफपीओ’ जारी गर्दाको पैसा तिर भनेर बजेटमा आएपछि ९८ करोड हामीले सरकारलाई ति¥यौं । पुराना करहरू तिर्नुपर्ने थियो । अर्को एक अर्ब १९ करोड रूपैयाँ सञ्चिति कोषमा राखेका थियौं । राष्ट्र बैंकको निर्देशनले फेरि अर्कोमा लिएर गयौं । मुख्य कुरा भनेको असुल नै हो । त्यसमा सुधार नहुँदासम्म समस्या भइराख्ने छ । अहिले पनि हामीले असार मसान्तमा आएको १६५ करोड नाफा जुन कमाएका छौं, त्यो ‘सिस्टम’ले दिएको नाफा हो । अब त्यसमा पनि अब राष्ट्र बैंकले ‘सुपरभिजन’ गरिरहेको छ । त्यसमा कति काँटछाँट गर्छ, त्यसमा पनि भर पर्छ । नेपाल राष्ट्र बैंकले ‘फाइनल’ गरेपछि मात्रै थाहा हुन्छ । अब १५६ करोड जुन हामीले नाफा देखाएका छौं, त्यसबाट ५२५२६ जति लाभांश हामीले दिन सक्छौं कि भन्ने छ । त्यसमा पनि सरकार र राष्ट्र बैंकले के गर्ने हुन् ।

नयाँ सरकार बनेपछि शेयर बजारबाट केही उत्साहित बनाउन खोजियो । तर, फेरि ‘हात्ती आयो हात्ती आयो फुस्सा’जस्तो भयो नि, हैन ?
नयाँ सरकार बनेपछि दुई ठूला दलले उठाएका मुद्दा र सामाजिक सञ्जालदेखि मिडियामा पनि निकै सकारात्मक कुराहरू आए । यसले आम लगानीकर्ताहरूलाई उत्साहित बनाउन भूमिका खेल्यो । अर्थमन्त्री पनि शेयर बजारप्रति पनि सकारात्मक हुनुहुन्थ्यो । त्यतिबेला आम लगानीकर्ताको ‘सेन्टिमेन्ट’ले पनि राम्रो काम गरेको ग¥यो । ‘शेयर मार्केट’का खेलाडीहरू एकदम उत्साहित भए । राष्ट्र बैंकले पनि संस्थागततर्फको कर्जा सीमा हटाइदियो । हिजो एक करोड लिएर लगानी गर्नेहरू दुई करोड लिन थाले, हिजो ५ करोड, ७ करोड लिने लगानीकर्ताहरू १० करोड लिन थाले । त्यसले कर्जा पनि बढ्यो, बजार पनि बढ्यो । अहिले पनि बजार नकारात्मक छैन । उतारचढाव त आइरहन्छ ।

बजार दोस्रो ‘बुल’को अवस्थामा आइपुग्दा र सबैतिरबाट सकारात्मक भइरह“दा पनि वाणिज्य बैंकको शेयरमा भने त्यति उत्साह आउन सकेन । बैंकको शेयर लामो समयदेखि सुस्त नै छ । किन यस्तो भइरहेको छ ?
शेयर बजारमा वाणिज्य बैंकको शेयरको भाउ घट्दै जानु एउटा मुख्य कारण मर्जरमा गएर हो । आठ अर्ब चुक्तापुँजी पु¥याउनुपर्ने अवस्था थियो । ‘मर्ज’ हुँदा कुनै बैंकको ४० अर्बसम्म चुक्तापुँजी छ । त्यसले ‘अर्निङ पर शेयर’ घटिरहेको छ । अर्को कुरा, बैंकको ‘सप्लाई’ बढी छ । हिजो बुलिशको अवस्था थियो, त्यो समयमा पनि रिटर्न पाएको होइन । अहिले पनि विभिन्न कारणले गर्दा ‘रिटर्न अर्निङ पोइन्ट शेयर’ पनि घट्दै गएको छ । ‘रिर्टन अफ इक्युटी’ पनि घट्दै गएको छ । त्यसले ओभर सप्लाई हुने तर, रिटर्न चाहिँ कम हुँदै जाने अवस्था बन्यो । राष्ट्र बैंकले अहिले ४ प्रतिशतमा ‘क्यापिङ’ गरिदिएको छ । जतिसुकै लगानी गरे पनि चार प्रतिशतभन्दा बढी गर्न पाइँदैन भन्ने छ । यी सबैले गर्दाखेरि अर्निङ पर शेयर ‘ओभर सप्लाई’ हुँदा घट्न पुगेको हो । असारको रिपोर्ट आएपछि सामान्यतया बढ्नुपर्नेमा खासै बढ्न सकेन, ओभर सप्लाई र अर्निङ परशेयर घटेकै कारण यस्तो भएको हो ।

अनुभवी अर्थमन्त्री हुनुहुन्छ, आर्थिक मन्दीबाट बाहिर निकाल्न मेहनत गरेको पनि देखिन्छ, तर पनि किन उत्साह बढ्न सकिरहेको छैन ?
अहिलेको अवस्थामा अर्थमन्त्रीज्यूले एकदम मेहनत नै गरेको देखिन्छ । हामीलाई पनि बोलाएर कहाँ सहयोग गरौं, समस्या के छ, कहाँ के कुरा फुकाइदिनुपर्छ भन्नुहुन्छ । मन्त्रालयले गरेर मात्र पनि नहुने धेरै कुरा छन् । वित्तीय नीतिले गर्नुपर्ने काम पनि गरिरहेको छ । मौद्रिक नीतिले पनि सहजीकरण गरिदिएको छ । तर, देशको आर्थिक अवस्था सुधारको वातावरण आम उपभोक्ताको आत्मविश्वास नै हो ।
उद्योगपति र व्यापारीहरूले पनि यही देशमा केही हुन्छ भनेर लगानी बढाउनबारे सोच्न प¥यो । यो देशमा भविष्य छ भनेर विश्वास राख्नु प¥यो । यी कुराले बिस्तारै आम मान्छेमा आत्मविश्वास बढ्छ । देशमा अहिले हामी खर्बभन्दा माथिको आयात गरेर खाइरहेका छौं । यति पैसा हाम्रो ‘रेमिट्यान्स’ आयो भन्छौं । अर्बौं अर्ब रूपैयाँ पढ्न जाने भाइबहिनीहरूले लगिरहेका छन् । धेरै ठूलो रकम बाहिर गएको छ । यसलाई रोक्न सक्नु प¥यो । त्यो वातावरण ह्वात्तै एकैपल्टमा बन्ने होइन । तर, त्यसका लागि माहोल बनाइदिनु प¥यो । त्यसमा सबैको हात चाहिन्छ ।

हाम्रो लगानी सुरूमा अलिकति अनुत्पादक क्षेत्रमा गएर पनि अहिले समस्या आएको कुरा कतिको सत्य हो ?
केही सत्य पनि हो । अनुत्पादक क्षेत्रहरू घरजग्गा कारोबार, शेयर बजार जस्ता क्षेत्रमा सुरूमा लगानी बढ्नुको कारण एउटा सहकारीको भरथेग थियो । त्यतिबेला बैंक तथा वित्तीय संस्थाले पनि अलिकति हेलचेक्य्राइँ गरेका हुन् कि जस्तो देखिन्छ । ‘कोभिड’को समयमा हामीले जुन सहयोग ग¥यौं, त्यतिबेला अलिकति ध्यान नपुगेकै हो । त्यसमा कमीकमजोरी भएकै हो । त्यो पैसा हामीले उद्योग बचाउन र वस्तु तथा सेवा नरोकियोस्, रोजगारी नगुमोस् भनेर दिएको सुविधा हो । त्यसको केही पैसा चाहिँ बािहर ‘रियलस्टेट सेक्टर’मा गयो । यो चलायमान हुनै पर्छ ।
तपाईंको कार्यकाल अझै करिब साढे तीन वर्षभन्दा बढी छ, अबको योजना र कार्यदिशा के हुन सक्छन् ?
हामी २०८०/०८१ देखि ०८४/०८५ सम्म एउटा रणनीतिक योजना बनाइरहेका छौं, जसमा कसरी आम ग्राहकको बैंकतर्फ आकर्षण बढाउन सकिन्छ भन्नेमा ध्यान दिने योजना छ । कमजोरीहरूलाई सुधार गरेर लैजाने र पुँजी वृद्धि गर्ने योजना छ । त्यसैगरी अबको नयाँ पुस्तालाई सोचेर अघि बढाउने र सकेसम्म ‘डिजिटल बैंक’तर्फ ध्यान दिने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय