
काठमाडौं । मेटलाइफले मध्यावधि वृद्धि बीमा योजना संचालनमा ल्याएको छ । मेटलाइफले ग्राहकहरूको लागि मध्यावधि फाइदाहरु सहितको नयाँ एन्टिसिपेटेड एन्डोमेन्ट जीवन बीमा योजना संचालनमा ल्याएको हो ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको हो ।
कम्पनीको अनुसार यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४० प्रतिशत रकम प्राप्त गर्नेछन् अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् । र यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १०० प्रतिशत रकम इच्छाइएको व्यक्तिले प्राप्त गर्नेछन् ।
यस योजनाको मध्यावधिपछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यक्तिले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले धेरै उत्साहका साथ ग्राहकहरूका लागि नयाँ विशेषता सहितको बीमा योजना ल्याएका बताए । ‘यस बीमा योजनाबाट ग्राहकहरुले आत्मविश्वासका साथ बाँच्न र सँगसँगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन्,’ उनले भने, ‘हाम्रा ग्राहकको आवश्यकतालाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।’