काठमाडौं । बैंकमा तलबी खाता रहेका वा पेसागत तथा व्यवसायिक आय जम्मा हुने खाता ग्राहकले अधिकतम ५ लाख रुपैयाँसम्म विद्युतीय कर्जा पाउन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकका लागि यो सुविधा दिएको हो।
विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन शुक्रबार जारी गर्दै अन्य ग्राहकहरुको हकमा भने अधिकतम दुई लाख रुपैयाँसम्म विद्युतीय कर्जा दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।
विद्युतीय कर्जाको अधिकतम अवधि तीन वर्ष हुने पनि उल्लेख गरिएको छ। राष्ट्र बैंकले यसरी दिइने कर्जा फिर्ता गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने जनाएको छ।
राष्ट्र बैंकले ग्राहकहरुसँग कर्जा सेवा शुल्क वा तेस्रो पक्षलाई बुझाउनुपर्ने शुल्कबाहेक अन्य शुल्क लिन नपाउने व्यवस्थासमेत गरेको छ। केही समयअघि फोनपेले ‘स्क्यान नाउ पे लेटर’ को विद्युतीय कर्जा उपलब्ध गराउन सुरु गरिसकेको छ।















