२०८३ बैशाख १६ बुधबार

काठमाडौँ – भारतले वस्तु तथा सेवा कर (जीएसटी) को दर घटाएपछि नेपाली बजारमा तरंग आएको छ । कर कटौतीसँगै भारतीय वस्तुहरू सस्तो हुने भएपछि यसको प्रत्यक्ष असर नेपालमा पर्ने व्यवसायीहरूले बताएका छन् ।

भारत सरकारले हालै जीएसटी दर ५ र १८ प्रतिशत कायम गर्ने निर्णय गरेको हो । यसअघि जीएसटी ५, १२, १८ र २८ प्रतिशतमा विभाजन गरिएको थियो । कर घटेपछि दैनिक उपभोग्य वस्तुदेखि मोटरसाइकल, सिमेन्ट, औषधि, कृषि उपकरणसम्म भारतमै सस्तो हुने भएको छ ।

व्यवसायीहरूका अनुसार भारतमा मूल्य घटेपछि नेपाली बजारमा अनौपचारिक व्यापार (तस्करी) बढ्ने सम्भावना उच्च छ । नेपाल–भारतबीचको खुला सीमा कारण सस्तो भारतीय सामान भित्रने र घरेलु उद्योग दबाबमा पर्ने चिन्ता बढेको छ ।

“चाडपर्वको बेला भारतमा सामान सस्तो हुँदा नेपाली बजारमा त्यसको सीधा असर पर्छ,” नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले बताए, “सस्तो भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नु स्थानीय उद्योगका लागि गाह्रो हुन्छ।”

उपभोक्ताले भने तत्काल फाइदा लिन सक्नेछन् । साबुन, दाँत मञ्जन, दूध, घ्यू, आइसक्रिम, बिस्कुट, चश्मा र जीवनरक्षक औषधिसम्म सस्तो हुने भएकाले नेपाली बजारमा पनि मूल्य घट्ने अपेक्षा गरिएको छ । तर व्यवसायीहरूको भनाइमा यसले दीर्घकालीन रूपमा उद्योग, रोजगारी र भन्सार राजस्वमा नकारात्मक असर पार्नेछ ।

यसअघि २०१७ मा लागू गरिएको जीएसटी कर प्रणाली करिब आठ वर्षपछि संशोधन गरिएको हो । भारतले अमेरिकाले लगाएको उच्च करको असर कम गर्न र आन्तरिक खपत बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन दर घटाएको बताएको छ ।

नयाँ दरहरू आगामी सेप्टेम्बर २२ देखि लागू हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महँगा गाडी, चुरोट र सुर्तीजन्य पदार्थमा भने ४० प्रतिशत विशेष स्ल्याब कायम गरिएको छ ।

नेपालका कतिपय अर्थशास्त्री र व्यवसायीहरूले कर दर पुनरावलोकन गरेर वा घरेलु उत्पादनलाई प्रोत्साहन दिने नीति अपनाउन नेपाल सरकारले चाँडै कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर