काठमाडौ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि ८ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले शुक्रवार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०८१÷८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको जानकारी दिएको हो । विभागका अनुसार श्रम स्वीकृति लिनेहरुमा ७ लाख ४४ हजार ८ सय ११ जा पुरुष र ९४ हजार ४५५ जना महिला छन् ।
रोजगारीका लागि सबैभन्दा धेरै नेपाली युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराईन पुगेका छन् । विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले विगत पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएको जानकारी दिए । हालसम्म १ हजार ६ सय ८७ संस्थाहरुले इजाजत प्राप्त गरेकोमा २०८२ असार मसान्तसम्म २१२ वटा संस्थाहरु नविकरण भएका पनि उनले पत्रकार सम्मेलनमा बताए ।
श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क प्रमिट अन दि सेम डे’ को पूर्ण कार्यान्वयन भइरहेको उनको भनाइ छ । रित नपुगेको अनलाइन दरखास्तको हकमा आवश्यक कागजात पेस गर्न तत्कालै सन्देश पठाउने गरिएको र वैदेशिक रोजगारीको क्षेत्रलाई विचौलियामुक्त गरी शुन्य सहनशीलताको नीतिलाई पूर्ण रुपमा अंगिकार गरिएको विभागको दावी छ ।















