काठमाडौं – जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुग्यो ।
त्यति मात्रै नभई असार महिना पूँजीगत खर्च बढी हुने महिना हो । वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएको छ । यसले पनि ब्याजदर थप घट्न गएको बैंकर बताउँछन् ।
असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् । प्रकाशित ब्याजदरअनुसार स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकले मात्र ब्याजदर बढाएका छन् । माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमबि र सिद्धार्थले भने निक्षेपमा दिने अधिकतम ब्याजदर हेरफेर गरेनन् । प्रकाशित ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा ब्याज स्ट्यान्डर्ड चार्टर्डले दिनेछ भने सबैभन्दा कम प्रभु बैंकले दिने भएको छ ।
| बैंक | असारको ब्याजदर % | साउनको ब्याजदर % |
| कृषि विकास | ५.४५ | ५.४० |
| एभरेस्ट | ६.५५ | ६.२५ |
| नेपाल | ५.४५ | ५.४० |
| लक्ष्मी सनराइज | ५.७५ | ५.५० |
| माछापुच्छ्रे | ६.०० | ६.०० |
| एनआईसी एसिया | ६.५५ | ६.२५ |
| प्रभु | ६.१० | ४.२५ |
| स्टान्डर्ड चार्टर्ड | ६.२५ | ६.२६ |
| राष्ट्रिय वाणिज्य | ६.०० | ५.५० |
| नबिल | ५.७५ | ५.५० |
| ग्लोबल आईएमई | ६.०० | ६.०० |
| सिद्धार्थ | ५.७५ | ५.७५ |
| प्राइम कमर्सियल | ६.२५ | ६.०० |
| कुमारी | ५.७१ | ५.४१ |
| सानिमा | ६.३३ | ६.१८ |
| हिमालयन | ५.५० | ६.०० |
| नेपाल एसबीआई | ५.५० | ५.३५ |
| इन्भेस्टमेन्ट मेगा | ५.५० | ५.२५ |
| एनएमबी | ६.०० | ६.०० |
| सिटिजन्स | ५.६५ | ५.५० |















