२०८३ बैशाख १० बिहीबार

काठमाडौं – चालु आर्थिक वर्षको एघार महिनामा नेपाल राष्ट्र बैंकले कूल २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित रूपमा कर्जा लगानी गर्न नसकेको अवस्थाबीच राष्ट्र बैंकले मौद्रिक व्यवस्थापन अन्तर्गत पटक–पटक तरलता सोस्ने कदम चालेको हो।

राष्ट्र बैंकका अनुसार, २७ खर्ब ८४ अर्ब ८० करोड निक्षेप संकलन बोलकबोलमार्फत र १८५ खर्ब ५८ अर्ब ७० करोड स्थायी निक्षेप सुविधामार्फत खिचिएको हो। यसरी दुई विधिबाट समग्रमा २१३ खर्बभन्दा बढी तरलता प्रशोचन गरिएको हो।

पछिल्लो वर्षको सोही अवधिमा राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत कुल १९० खर्ब ८४ करोड रुपैयाँ तरलता प्रशोचन गरेको थियो। यस अवधिमा २ अर्ब ७० करोड रुपैयाँ ओभरनाइट तरलता सुविधा समेत प्रयोगमा आएको बैंकले जनाएको छ।

विदेशी विनिमय कारोबारतर्फ हेर्दा, राष्ट्र बैंकले ५ अर्ब १ करोड अमेरिकी डलर खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा डलर ५ अर्ब ३३ करोड खरिदमार्फत ७ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको थियो।

त्यस्तै, ३ अर्ब ४६ करोड अमेरिकी डलर बिक्री गरेर राष्ट्र बैंकले ४ खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष यो कारोबार अझै उच्च रहेको थियो – डलर ३ अर्ब ६४ करोड बिक्रीमार्फत ४ खर्ब ८४ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।

यता, अन्तर–बैंक कारोबारतर्फ चालु वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ५० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। यसरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार भएको छ। वित्तीय प्रणालीमा स्थायित्व कायम राख्न तथा तरलताको सन्तुलन मिलाउन राष्ट्र बैंकको सक्रियता अझै जारी रहने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर