काठमाडौैं – भारतीय रुपैयाँ यस त्रैमासमा उदीयमान एसियामा सबैभन्दा कमजोर प्रदर्शन गर्ने मुद्राको रुपमा उभिएको छ । विदेशी विनिमय सञ्चिति घट्न नदिन भारतको केन्द्रीय बैंकले लिएको नीतिका कारण यो प्रवृत्ति आगामी दिनमा पनि जारी रहन सक्ने विश्लेषकहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ ।
भारतीय रिजर्भ बैंकले विभिन्न समयमा डेरिभेटिभ्स सम्झौतामार्फत अरबौं डलर बेच्ने प्रतिबद्धता पहिले नै जनाइसकेको छ । अब उसले आफ्नो डलर सञ्चिति घट्न नदिन अमेरिकी डलरको ठूलो परिमाण खरिद गर्नुपर्ने देखिएको छ । यस्तो खरिदले रुपैयाँमाथि दबाव पर्ने अनुमान गरिएको छ ।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार अप्रिलसम्ममा यसले करिब ७३ अर्ब अमेरिकी डलर भुक्तानी गर्नुपर्ने देखिएको थियो । जुन नेट सर्ट फर्वार्ड पोजिसनमार्फत भविष्यमा तोकिएको मितिमा बिक्री गर्न सहमति गरिएको डलरको परिमाण हो । फेब्रुअरीमा ८८.८ अर्ब डलरसम्म पुगेको यो परिमाण अहिले केही घटेर आएको हो ।
आइडीएफसी बैंकका अनुसार सम्भावित डलर खरिदका कारण डिसेम्बरको अन्त्यसम्ममा भारतीय रुपैयाँ प्रतिडलर ८६.५० सम्म झर्न सक्ने अनुमान गरिएको छ । कमर्जबैंक एजीको अनुमान अनुसार यो दर अझै घटेर प्रतिडलर ८७.५० सम्म जान सक्ने देखिन्छ ।
गत शुक्रबार सार्वजनिक भएको सरकारी प्रतिवेदनले अन्तिम त्रैमासमा भारतको अर्थतन्त्र अपेक्षाभन्दा उच्च ७.४ प्रतिशतले वृद्धि भएको देखाएपछि सोमबार भने भारतीय रुपैयाँ ०.२ प्रतिशतले मजबुत हुँदै प्रतिडलर ८५.४० मा कारोबार भइरहेको छ । बार्क्लेज बैंकका रणनीतिकारहरुले पनि डलर दबाबमा रहँदा पनि भारतीय रुपैयाँ कमजोर प्रदर्शन गर्ने बाटोमा रहेको बताएका छन् ।
आरबीआईले आफ्नो विदेशी मुद्रा सञ्चितिको बफर पुनःस्थापित गर्नमा केन्द्रित रहने सम्भावना रहेको उनीहरुले बताएका छन् । यस त्रैमासिक अवधिमा रुपैयाँमा खासै परिवर्तन आएको छैन । डलरविरुद्ध अन्य एसियाली मुद्राहरुमा उछाल आउँदा भारतीय मुद्रा भने यसबाट वञ्चित भएको छ ।















