२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । सन् २०२४ को नौ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ६८ लाख ३८ हजारले हवाई यात्रा गरेका छन् । जसमध्ये ३२ लाख आठ हजार आन्तरिक र ३६ लाख ३० हजारले अन्तर्राष्ट्रिय यात्रा गरेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

यस अवधिमा २९ अन्तर्राष्ट्रिय वायुसेवा र हेलिकोप्टरसहित २० आन्तरिक वायुसेवाले यात्रु बोकेका हुन् । सबैभन्दा बढी यात्रु बोक्नेमा आन्तरिकतर्फ बुद्ध एयर र अन्तर्राष्ट्रियतर्फ कतार एयर भएका छन् ।

नौ महिनामा बुद्ध एयरले मात्रै ३५ हजार एक सय दुई उडानमार्फत १९ लाख ५६ हजार यात्रुलाई सेवा दिएको छ । यो संख्या कुल आन्तरिक यात्रुको ६० प्रतिशतभन्दा बढी हुन आउँछ ।

यस्तै, कतार एयरवेजले १८ सय ३६ उडान–अवतरणमार्फत चार लाख ५० हजार यात्रु बोकेको छ । दोस्रो नम्बरमा रहेको नेपाल वायुसेवा निगमले २३ सय ४८ उडान–अवतरणमार्फत चार लाख ११ हजार यात्रु बोकेको छ ।

नौ महिनामा अन्तर्राष्ट्रियतर्फ २४ हजार आठ सय एक उडान–अवतरण भएको त्रिभुवन विमानस्थलले जनाएको छ । जसमध्ये १२ हजार तीन सय ९८ उडानमार्फत १९ लाख १९ हजार यात्रु त्रिभुवन विमानस्थलबाट विभिन्न देशमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर