२०८३ बैशाख १० बिहीबार

काठमाडौं – पछिल्लो १ महिनामै बैंकहरुको औसत आधार दर (बेस रेट) ०.२४ प्रतिशत विन्दुले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको ३ महिनाको औसत आधार दरका आधारमा असोज महिनामा बैंकहरुको औसत बेस रेट ७.६८ प्रतिशत कायम छ । भदौ महिनामा औसत आधार दर ७.९२ प्रतिशत निर्धारण भएको थियो ।

भदौको तुलनामा असोजमा २० वटै वाणिज्य बैंकको आधार दर घटेको छ । अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । बेस रेट घट्दै गएपछि कर्जाको ब्याजदर पनि सोही अनुसार तल आउने गर्छ । आधार दरमा निश्चित प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ ।

तसर्थ, आधार दर घट्दा कर्जाको ब्याज दर पनि घट्ने गर्छ । तथापि, बैंकको ब्याजदर निकै तल आउँदा पनि कर्जाको माग भने नबढेको बैंकर तथा व्यवसायीहरुले बताउँदै आएका छन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ब्याजदर घट्दा पनि बैंकहरुबाट कर्जा प्रवाह नभएको बताए ।

भदौ महिनामा कर्जा प्रवाह केही बढे पनि असोजमा कर्जा प्रवाहमा उत्साहजनक नरहेको उनको भनाइ छ । उपभोग्य कर्जाको माग बढे पनि उत्पादनशील तथा निर्माणको क्षेत्रमा कर्जाको माग नबढेको उनको भनाइ छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६५ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा ५२ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । सीडी रेसियो ७८.५८ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । यसले अहिले समग्रमा बैंक तथा वित्तीय संस्थाहरु कर्जा दिन सहज अवस्थामा रहेको देखाउँछ ।

असोजका लागि सबैभन्दा कम बेस रेट स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको बेस रेट ७.०३ प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ६.३७ प्रतिशत बेस रेट निर्धारण भएको छ । सबैभन्दा धेरै बेस रेट एनआइसी एसिया बैंकको रहेको छ । यसको बेस रेट ८.८८ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर