२०८३ बैशाख १० बिहीबार

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले आइतबारमात्रै नेपाल राष्ट्र बैंकमा झण्डै २ खर्ब ४० अर्ब रुपैयाँ जम्मा गरेका छन् । कर्जा विस्तार गर्न नसक्दा बैंकहरुले प्रणालीमा भएको अधिक रकम अल्पकालीन उपकरणहरुमा लगानी गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आइतबार कुल २ खर्ब ३९ अर्ब ९५ करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका हुन् ।

बैंकहरुले आइतबार १ खर्ब ८८ अर्ब १५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन् । त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत ५१ अर्ब ८० करोड राष्ट्र बैंकमा बुझाएका हुन् । वित्तीय प्रणालीमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ वित्तीय प्रणालीबाट झिक्न चाहेको थियो ।

तर, ९ बैंक तथा वित्तीय संस्थाले २२ आवेदन मार्फत ५३ अर्ब ८० करोड रुपैयाँ राख्न प्रस्ताव गरे । राष्ट्र बैंकले औसत २.९४९७ ब्याजदर दिने गरी ५१ अर्ब ८० करोड मात्र निक्षेप संकलन गरेको छ । यो निक्षेप २१ दिनका लागि लिएको हो, जुन आगामी असोज १३ गते परिपक्क हुनेछ ।

वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेकाले राष्ट्र बैंकले बजारबाट पैसा तानेकोे हो ।

आइतबार नै २८ वटा बैंक तथा वित्तीय संस्थारुले १ खर्ब ८८ अर्ब १५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन् । यो रकम २ दिनमा परिपक्क हुनेछ । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै गएपछि बैंकहरुले पनि अल्पकालीन उपकरणहरुमा लगानी बढाउँदै लगेका छन्।

चालु आर्थिक वर्ष सुरु भए यता भदौ २३ गते आइतबारसम्म बैंकहरुले ५८ खर्ब ६३ अर्ब २५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन । बैंकहरुले आजकोसहित २३ पटकमा उक्त रकम राष्ट्र बैंकमा राखेका हुन् । यस्तै यस अवधिमा निक्षेप संकलन उपकरण मार्फत ९ पटक गरेर २ खर्ब ९८ अर्ब २० करोड बुझाएका छन् । अझै पनि वित्तीय क्षेत्रको ३ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ राष्ट्र बैंकमा रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर