काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले वैदेशिक व्यापार गरेका मुलुकहरुमध्ये १३ मुलुकसँगको व्यापार नाफामा रहेको छ । नेपालले वैदेशिक व्यापार गरेका १०३ मुलुकमध्ये ९० मुलुसँगको व्यापार भने घाटामा रहेको छ । साउनमा व्यापार नाफा भएका मुलुकहरुमध्ये सबैभन्दा धेरै संयुक्त अधिराज्यसँग १८ करोड ३४ लाख ६६ हजार रुपैयाँ बराबर नाफा देखिएको हो। संयुक्त अधिराज्यबाट नेपालले १७ करोड ५७ लाख ३० हजारको आयात गर्दा ३५ करोड ९१ लख ९६ हजारको निर्यात गरेको छ ।
यस्तै व्यापार नाफा रहेका मुलुकहरुमा अफगानिस्तान, बेल्जियम, रुस, मौरिसस, ओमान, क्रोसिया, उज्वेकिस्तान, आइसल्याण्ड, बोस्निया हर्जगोभिना, केम्यान टापुहरू, लेबनान र माल्दिभ्स रहेका छन । अफगानिस्तानसँग १० करोड ३८ लाख व्यापार नाफा छ । त्यसैगरी बेल्जियमसँग २ करोड ५१ लाख ५८ हजार, रुससँग १ करोड ६४ लाख छ । सबैभन्दा कम व्यापार नाफा माल्दिभ्ससँग रहेको छ । माल्दिभ्ससँग १ लाख २२ हजार नाफा छ ।
नेपालको व्यापार नाफा रहेका १३ मुलुकमध्ये ६ वटा मुलुकसँगको आयात शून्य रहेको छ । अफगानिस्तान, मौरिसस, आइसल्याण्ड, केम्यान टापुहरू, लेबनान र माल्दिभ्समा नेपालले निर्यात मात्रै गरेको छ । यी देशबाट कुनै पनि सामान आयात गरेको देखिदैन् । वैदेशिक व्यापार भएका १०३ मुलुकमध्ये २७ वटा मुलुकसँग निर्यात शून्य रहेको छ भने ६ वटा मुलुकसँग आयात शून्य रहेको छ ।
नेपालले व्यापार नाफा गर्ने मुलुकहरुमा विशेषगरी गलैँचा, पस्मिनाका सामान, तयारी पोसाक, चिया, कफी, नेपाली हाते कागज, जुट तथा जुटका सामान, जडीबुटी, ऊनी फेल्टका सामान, कुकुर तथा बिरालोको आहारालगायतका सामान निर्यात हुने गरेका छन् । यी मुलुकबाट हुने आयात न्यून परिमाण छ भने निर्यात बढेको छ।
नेपालले बढी निर्यात गरेका वस्तुहरुमा कार्पेट, चिया, स्टील, धागोलगायत छन्। गत साउनमा नेपालले १ अर्ब ११ करोड ७५ लाख बराबरको कार्पेट निर्यात गरेको छ। यस्तै ५८ करोड २० लाख रुपैयाँको धागो, ५१ करोड ३२ लाख रुपैयाँको कालो चिया र ४७ करोड ९७ लाख रुपैयाँको ६ सय मिमि मोटाइको फलाम तथा स्टिल निर्यात गरेको छ ।
गत साउनमा नेपालले व्यापार घाटा व्यहोरेका ९० मुलुकमध्ये सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । नेपालले भारतसँग मात्रै ७० अर्ब १० करोड ४२ लाख बराबरको व्यापार घाटा व्यहोरेको विभागले जनाएको छ। साउनमा भारतबाट ७७ अर्ब ६८ करोड ३१ लाख बराबरको आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाखको निर्यात भएको छ।
नेपालले दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने अर्को छिमेकी मुलुक चीनसँग यस अवधिको व्यापार घाटा २४ अर्ब ३८ करोड ४७ लाख बराबर छ। गत साउनमा चीनबाट २४ अर्ब ५४ करोड २३ लाखको आयात हुँदा १५ करोड ७६ लाख बराबरको मात्रै निर्यात भएको हो। कतारसँग २ अर्ब ९१ करोड रुपैयाँ, युक्रेन २ अर्ब ३० करोड, अस्ट्रेलियासँग १ अर्ब ९२ करोड रुपैयाँ र बहराइनसँग १ अर्ब ५५ करोड रुपैयाँ व्यापार घाटा रहेको छ । यस्तै मलेसिया, इन्डोनेसिया, टर्की, अर्जेन्टिना तथा थाइल्याण्ड लगायतका मुलुकसँग पनि नेपालको व्यापार घाटा उच्च छ।
नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य वस्तु, स्मार्टफोन, कच्चा सूर्यमुखी तेललगायत छन्। गएको साउनमा नेपालले ६ अर्ब ९८ करोड ७१ लाख बराबरको डिजेल, ५ अर्ब ६९ करोड ३५ लाख बराबरको पेट्रोल र ४ अर्ब ८२ करोड ६६ लाख बराबरको खाना पकाउने ग्यास आयात गरेको छ । यसअवधिमा ३ अर्ब ४६ करोड ६३ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रूपैयाँको मात्रै निर्यात गरेको छ । यस अवधिमा आयात ०.६७ प्रतिशतले तथा निर्यात ९.६३ प्रतिशतले घटेको छ।















