काठमाडौं : नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न सकस परेकोे छ । गत आर्थिक बर्षको मध्यतिरबाट वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहदै आएकोमा चालु आर्थिक बर्ष सुरु भएयता झनै बढेर गएको छ । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको मागमा कमी आएको छ ।
रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो। अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा एसडीएफ) तथा निक्षेप संकलन उपकरणको प्रयोगलाई तीब्रता दिन थालेको हो ।
चालु आर्थिक बर्ष सुरु भए यता अर्थात साउनदेखि यता राष्ट्र बैंकले निक्षेप संकलन मार्फत ६ पटकसम्म बैंकिङ प्रणालीबाट रकम तानेको छ। यस अवधिमा राष्ट्र बैंकले ३ खर्ब ३० अर्ब ६० करोड रूपैयाँ तरलता खिचेको छ । केन्द्रीय बैंकले गत आइतबार अर्थात भदौ २ गते मात्रै वित्तीय प्रणालीबाट १ खर्ब रुपैयाँ खिचेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत् २१ दिनका लागि १ खर्ब रुपैयाँ खिचेको हो ।
आइतबार केन्द्रीय बैंकले जारी गरेको १ खर्बको निक्षेप संकलनका लागि २५ संस्थाले ५५ वटा आवेदनमार्फत् १ खर्ब ९६ अर्ब २५ करोड रुपैयाँको आवेदन दिएका थिए । सोमध्येबाट केन्द्रीय बैंकले थोरै ब्याजदर बोल गर्नेलाई प्राथमिकतामा राखेर बाँडफाँट गरेको छ । आइतबारको निक्षेप संकलनको औसत ब्याजदर २.८८३३ प्रतिशत कायम भएको छ ।
चालु आर्थिक वर्ष सुरु भए यता अर्थात साउनमा महिनामा मात्रै बैंकहरुले ४३ खर्ब ८८ अर्ब ६५ करोडको स्थायी निक्षेप सुविधा (एसडीएफ) उपयोग गरेका छन । बैंकहरुले १४ पटकमा उक्त रकम राष्ट्र बैंकमा राखेका हुन । उक्त उपकरणमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । केन्द्रीय बैंकले साताको ३ दिन अर्थात् आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप सुविधा प्रदान गर्छ । स्थायी निक्षेपमार्फत् तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । गत साउन ३१ गते बैंकहरुले २ खर्ब ६० अर्ब ९५ करोड स्थायी निक्षेप सुविधा लिएका थिए ।
केन्द्रीय बैंकले गत फागुनदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा सीधै केन्द्रीय बैंकमा निक्षेप राख्न सकिने व्यवस्थाको सुरु गरेको थियो । केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी कार्यन्वयन गर्दे ब्याजदर र तरलता व्यवस्थापनका लागि स्थायी निक्षेपको सुरुवात गरेको हो । यो उपकरण सुरु भएको सुरुवाती समयमा बैंकहरूले हरेक आइतबार र बुधबार मात्रै स्थायी निक्षेप राख्न पाउने व्यवस्था थियो । तर अधिक तरलताको अवस्था कायमै रहेपछि केहि समय पश्चात हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप राख्न पाउने व्यवस्था राष्ट्र बैंकले गर्यो ।
बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस परेको छ । जसका कारण राष्ट्र बैंकले लिएको नीतिगत लक्ष्य समेत पूरा हुन सकिरहेको छैन। बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने लक्ष्य राष्ट्र बैंकको छ। निक्षेप संकलनको ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत तोकिएको छ । निक्षेप संकलनको ब्याजदर ३ प्रतिशतको सीमा कायम गर्न यस्तो उपकरण जारी गर्छ ।
नेपाल राष्ट्र बैंकद्वारा खुला बजार कारोबारमार्फत तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गर्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्ने गरेको छ ।
राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा ८७ अर्ब १५ करोड ७९ लाख अधिक तरलता रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरूमा कुल ६४ खर्ब १९ अर्ब रूपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५१ खर्ब ६२ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको सिडी रेसियो ७८।९८ प्रतिशत छ।
गत आर्थिक वर्ष २०८०/८१ मा स्थायी निक्षेप सुविधामार्फत ३५ खर्ब २२ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोल मार्फत ११ खर्ब ५१ अर्ब २५ करोड गरी कुल ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत ८ खर्ब ३ अर्ब ५६ करोड गरी कुल ८ खर्ब ४ अर्ब ७६ करोड तरलता उपयोग गरेका छन्।















