काठमाडौं : सञ्चालनमा आएका धितोपत्र ब्रोकर कम्पनीहरुले गत जुलाई १ देखि अगस्ट ८ सम्म ७ खर्ब ८ अर्ब ७८ करोड ९० लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार गरेका छन् । बजार तीब्र गतिमा बढ्न सुरु गरेको समय अर्थात, जुलाई १ देखि कारोबार रकममा पनि वृद्धि आएको हो । जुलाई १ देखि अगस्ट ८ सम्म २८ दिन सेयर बजारमा कारोबार भएको छ ।
सेयर स्क्रिनिङ सफ्टवेयर ‘स्मार्ट वेल्थप्रो’ले उपलब्ध गराएको तथ्यांक अनुसार १ महिनाको समय अवधिमा ब्रोकरहरुले ७ खर्ब भन्दा धेरैको कारोबार गरेका छन् । कारोबार रकम बढेसँगै यिनीहरुको आम्दानी पनि बढेको छ । सोही कारोबार रकममा ब्रोकरहरुको औसत कमिसन दर ०.३० प्रतिशत मान्ने हो भने पनि २ अर्ब १२ करोड रुपैयाँ भन्दा धेरैको आम्दानी भएको छ ।
यद्दपि, लगानीकर्ताहरुले गरेको कारोबारमा ०.३६, ०.३३, ०.३०६, ०.२७ र ०.२४३ प्रतिशत कमिसन लाग्ने गरेका छ । ५० हजार भन्दा कमको कारोबारमा लगानीकर्तालाई ०.३६ दरले कमिसन लाग्छ । ५० हजार देखि ५ लाखसम्मको कारोबारमा ०.३३, ५ देखि २० लाखसम्म ०.३०६, २० देखि १ करोडसम्म ०.२७ र १ करोड भन्दा माथि कारोबार गर्नेले ०.२४३ प्रतिशत कमिसन तिर्नु पर्ने हुन्छ ।
१ करोड भन्दा माथिको कारोबार एकै ट्रेडमा भयो भने मात्र ०.२४ प्रतिशत कमिसन दर लागू हुन्छ । त्यसका लागि खरिद गर्ने र बिक्री गर्नेले एकै ट्रेडमा १ करोड भन्दा धेरैको कारोबार गर्नु पर्छ । यदि छुट्टाछुट्टै कारोबार अर्थात, १० लाख, ५ लाख गरी ट्रेड भयो भने सोही अनुसार कमिसन लागू हुन्छ । तर, त्यसरी एकै ट्रेडमा सबै सेयर खरिद वा बिक्री हुने सम्भावना हुँदैन । त्यसैले लगानीकर्ताहरुले प्रायः तिर्ने भनेको ०.३६ र ०.३३ प्रतिशत कमिसन हो ।
बजार बढेसँगै लगानीकर्ता र ब्रोकरहरुलाई पनि मनग्य आम्दानी भएको छ । यद्दपि, ब्रोकरहरुले गरेको आम्दानीबाट नेप्सेलाई पनि केही रकम तिर्नुपर्छ । त्यसैले आम्दानीको सबै रकम ब्रोकरको मात्र भन्न मिल्दैन ।















