काठमाडौं : सूचीकृत १५ वटा फाइनान्स कम्पनीहरुमध्ये १४ वटाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार यी कम्पनीहरुले समग्रमा ४४ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा फाइनान्सहरुको खुद नाफा ८ करोड ४ लाख रुपैयाँ थियो । यिनीहरुको नाफा ४५४ प्रतिशत बढेको छ ।
यता, १४ वटा फाइनान्सको चुक्ता पुँजी १३ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बराबर रहेको छ । त्यसैगरी, जगेडा कोषमा ७ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ जम्मा छ । यिनीहरुको जगेडा कोष २१.३७ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीहरुले समग्रमा ३ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ७.१२ प्रतिशत कम हो । अघिल्लो वर्ष यिनीहरुले ३ अर्ब ९४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।
खुद ब्याज आम्दानी घटे पनि फाइनान्सहरुको नाफा भने बढेको छ । इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो । अघिल्लो वर्ष घाटामा रहेका केही कम्पनीहरु गत वर्ष खुद नाफामा गएका छन् । जसले गर्दा नाफामा सुधार आएको हो । तर, यिनीहरुको रिटेन्ड अर्निङमा कुनै सुधार देखिएको छैन । जम्मा ४ वटा कम्पनीको मात्र वितरणयोग्य नाफा घनात्मक देखिएको छ ।
जसमध्ये मञ्जुश्रीको वितरणयोग्य नाफा १० करोड ७६ लाख, आइसीएफसीको ४ करोड ७२ लाख, गुहेश्वरी फाइनान्सको २ करोड ८८ लाख र श्री इन्भेष्टमेन्टको वितरणयोग्य नाफा २ करोड ३८ लाख रुपैयाँ देखिएको छ । यता, ४ वटा कम्पनीको प्रतिसेयर आम्दानी नोक्सानीमा छ ।
१४ वटा फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी मञ्जुश्री फाइनान्सको देखिएको छ । यसको १ अर्ब ३५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । दोस्रोमा, आइसीएफसी फाइनान्सको १ अर्ब १८ करोड ३४ लाख, रिलायन्सको १ अर्ब १२ करोड, पोखराको १ अर्ब ८ करोड र गुहेश्वरी फाइनान्सको १ अर्ब १ करोड रुपैयाँ पुँजी रहेको छ । सबैभन्दा कम मल्टिपर्पस फाइनान्सको ६१ करोड २ लाख रुपैयाँको पुँजी छ । समग्रमा यी कम्पनीहरुको १३ अर्ब २२ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
यता, जगेडा कोषमा सबैभन्दा धेरै गुडविल फाइनान्सको रहेको छ । यसको उक्त कोषमा १ अर्ब ३१ करोड र गोर्खाज फाइनान्सको १ अर्ब १ करोड रुपैयाँ जम्मा रहेको छ । सबैभन्दा कम मल्टिपर्पस फाइनान्सको ६ करोड २९ लाखको जगेडा कोष रहेको छ । समग्रमा यिनीहरुको रिजर्भमा ७ अर्ब ५८ करोड रुपैयाँ जम्मा छ ।















