काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ २ महिनायताकै उच्च विन्दुमा पुगेको छ । गर्मीको मौसममा माग थप बढ्न सक्ने र उत्तर अमेरिकातर्फ अग्रसर समुद्री आँधीका कारण आपूर्ति श्रङ्खलामा असर पर्नसक्ने देखिएपछि तेलको भाउ बढेको रोयटर्सले उल्लेख गरेको छ । मंगलबार पनि भाउ बढेर कारोबार भएपछि कच्चा तेलको भाउ विगत २ महिनायताकै उच्च विन्दुमा पुगेको हो ।
मंगलबार अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ ०.७० डलरले बढेर प्रतिब्यारेल ८७.३० डलरमा कारोबार भइरहेको छ । उक्त मूल्य गत अप्रिल ३० यताकै उच्च हो । यता, अमेरिकी बेन्चमार्क डब्लुटीआई क्रुड पनि ०.७३ डलरले बढेर प्रतिब्यारेल ८४.११ डलरमा कारोबार भइरहेको छ । जुन अप्रिल २६ यताकै उच्च हो । यसअघि सोमबार पनि दुवै बेन्चमार्कहरु २% सम्मले बढेका थिए ।
यता, पछिल्लो केही समययता कच्चा तेलको मूल्यलाई मध्य पूर्वको तनावसँग जोडिएको बढ्दो जोखिम प्रिमियम र अमेरिकामा घट्दो मुद्रास्फीति दरले पनि समर्थन गरिरहेको रोयटर्सले लेखेको छ । मुद्रास्फीति दर कम हुँदै गएसँगै ब्याजदर कटौती हुने सम्भावना पनि बढ्छ । ब्याजदर कटौती भएमा अर्थतन्त्र थप चलायमान भएर तेलको माग बढ्ने र मूल्य पनि माथि जाने अनुमान लगानीकर्ताले गरेका छन् ।















