काठमाडौं । विगत वर्षहरुमा तरलता अभावका कारण चौतर्फी आलोचना खेपेको नियामक केन्द्रीय बैंकलाई चालु आर्थिक वर्षमा भने अधिक तरलताका कारण यसको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा ६ खर्ब रुपैयाँभन्दा धेरै अधिक तरलता रहेको छ ।
जसका कारण गत आर्थिक वर्ष तरलता अभाव भएपछि खरबौं रुपैयाँ बजारमा पठाएको केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा भने अधिक तरलताका कारण बजारबाट खराबौं रुपैयाँ तान्नु परिरहेको छ । अधिक तरलताको अवस्था आएसँगै केन्द्रीय बैंकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको हो ।
तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बारम्बार निक्षेप संकलन बोलकबोल उपकरण र स्थायी निक्षेप सुविधाको प्रयोग गर्दै आएको छ । यी २ उपकरणहरुबाट केन्द्रीय बैंकले चालु आर्थिक वर्षको १० महिनामा मात्र खुद १३ खर्ब २७ अर्ब ३३ करोड रुपैयाँ बजारबाट ता
वैशाख मसान्तसम्म आइपुग्दा निक्षेप संकलन बोलकबोल उपकरणमार्फत बजारबाट केन्द्रीय बैंकले ७ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ तानेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधाको प्रयोग गरेर बजारबाट १३ खर्ब ८७ अर्ब ८५ करोड रुपैयाँ खिचेको छ ।
केन्द्रीय बैंकले १० महिनामा कुल २१ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ निक्षेप खिचे पनि ८ खर्ब ४ अर्ब ७१ करोड रुपैयाँ बजारमा पठाएको तथ्यांकले देखाएको छ । ओभर नाइट सुविध (ओएलएफ) मार्फत ८ खर्ब ३ अर्ब ५१ करोड रुपैयाँ बजारमा पठाएको छ । त्यस्तै, १ अर्ब २० करोड स्थायी तरलता सुविधा अन्तर्गत पठाएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।
यसआधारमा चालु आर्थिक वर्षको १० महिनामा खुद तरलता प्रशोचन १३ खर्ब २७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकर्ले २०८० फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको थियो ।
यस्तै, अहिले पुनः स्थायी निक्षेप सुविधा प्रभावहीन बनेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले यो व्यवस्थाको पुनरावलोकन गर्ने बताएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यो सुविधाको पुनरावलोकन गर्ने तयारीमा केन्द्रीय बैंक रहेको छ ।
स्थायी निक्षेप सुविधा प्रभावकारी नदेखिएपछि निक्षेप संकलन उपकरण मार्फत निरन्तर तरलता खिचिरहेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वनय गर्न विभिन्न औजार प्रयोग गर्दै आएको छ । अधिक तरलता भएर अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दरभन्दा तल गए पनि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ ।
गत वर्ष यसैअवधिमा तरलताा अभावका कारण बजारमा खरबौं रुपैयाँ पठाएको केन्द्रीय बैंकलाई यो वर्ष बजारबाट पैसा खिच्न हम्मेहम्मे परेको छ । २०८० वैशाख मसान्तसम्ममा केन्द्रीय बैंकले बजारमा खुद ४९ खर्ब ४४ अर्ब २१ करोड रुपैयाँ तरलता पठाएको थियो । तर गत वर्ष सोही अवधिमा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत बजारबाट ५ अर्ब रुपैयाँ मात्र तानेको थियो ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहेसँगै चालु आर्थिक वर्षको १० महिनामा तरलता प्रशोचनका उपकरणको प्रयोग बढेको छ । बाह्य क्षेत्रतर्फ शोधनान्तर बचत उल्लेख्य बढेकाले बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति कायम भएको हो । विशेषतः उच्च विप्रेषण आप्रवाह र आयात संकुचनको कारण शोधनान्तर र चालु खाता बचत हुन गई विदेशी विनिमय सञ्चिति पनि बढिरहेको छ ।
आन्तरिक अर्थतन्त्र सुस्त भएको छ । कर्जाको माग अपेक्षा अनुसार हुन सकेको छैन । प्रणालीमा पैसा थुप्रिएको छ । नीतिगत कडाईका कारण सेयर बजार र घर जग्गा व्यवसायले गति लिन सकेको छैन । यी क्षेत्रमा नगद प्रवाह बढ्न नसकेकाले पैसाजति सबै प्रणालीमा थुप्रिएको हो । यसैकारण केन्द्रीय बैंकलाई अधिक तरलता व्यवस्थापनमा हम्मेहम्मे परेको हो ।















