काठमाडौं : ब्रोकरहरुले आफ्नो छट्टै टीएमएस ल्याउने बताएको लामो समय बितिसके पनि अहिलेसम्म कुरामै सीमित भएको छ । यो या त्यो बहनामा नयाँ टीएमएस आउने प्रक्रिया झनझन् पछाडि धकेलिंदै आएको छ । तथापि, अहिले भने परीक्षणको अन्तिम तयारीमा रहेको ब्रोकरहरुको भनाइ छ । स्टक ब्रोकर्स एसोसिएसन नेपालका निर्वतमान अध्यक्ष सन्तोष मैनालीले ब्रोकरहरुले आफ्नो छट्टै टीएमएस ल्याउनको लागि अन्तिम तयारीमा जुटेको बताए ।
‘कार्यविधिमा भएको व्यवस्थाअनुसार टीएमएस सञ्चालनमा आउनुभन्दा अघि अन्तिम परिक्षणमा छ’ उनले भने, ‘गत बिहीबार हामीले नेप्सेलाई पत्र काटेर उक्त जानकारी पनि गराएका छौं ।’ उनका अनुसार नयाँ टीएमएस सञ्चालनका लागि ब्रोकर र नेप्सेबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा भइसकेको छ ।
उनले अब आउने साउन १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीका साथ काम अघि बढाइएको जानकारी दिए । तथापि, अहिले नै मिति तोक्न सक्ने अवस्था भने नरहेको उनको भनाइ छ । किन भने गत वर्षकै साउनबाट सञ्चालनमा ल्याउने भनिएको थियो । करिब १ वर्ष हुन लाग्दा पनि यो काम सुरु भएको छैन ।
‘सबै तयारी पूरा भएको छ तर यो प्राविधिक कुरा भएका कारण ठ्याक्कै यही मितिदेखि सञ्चालनमा आउँछ भन्न सकिंदैन’ उनले भने । यता, नेप्सेका प्रवक्ता मुराहरि पराजुली पनि अहिले ब्रोकरहरुले आफ्नो छट्टै टीएमएस ल्याउनको लागि नेप्सेले गर्नुपर्ने सबै प्रक्रिया सकिएको बताउँछन् । ‘परीक्षण सफल भएपछि छुट्टै टीएमएस सञ्चालनमा आउँला’ उनले भने ।
३३ ब्रोकर कम्पनीहरुले एकैसाथ श्रीलंकाको कम्पनीको टीएमएस प्रयोगमा ल्याउन लागेका हुन् । उनीहरुले श्रीलंकामा प्रयोग भइरहेको टीएमएस नै नेपालमा ल्याउन लागेका हुन् । यसका लागि उनीहरु सञ्चालनको अन्तिम तयारीमा जुटेका हुन् ।
तथापि, नयाँ ब्रोकरहरुले आफ्नो छट्टै टीएमएस सञ्चालनमा ल्याउने भनेर भनेको पनि करिब ३ वर्ष भइसक्यो । तर, सञ्चालमा आउन सकेको छैन । ब्रोकर र नेप्सेले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै लगाउँदै आएका छन् । यो सञ्चालनमा नआएसम्म आउँछ भनेर विश्वस्त हुने अवस्था भने नरहेको जानकारहरुले बताएका छन् ।















