काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार तेस्रो दिन घटेको छ । मध्यपूर्वमा युद्धविराम सम्झौताको आशा र शीर्ष उपभोक्ता अमेरिकामा कच्चा तेलको भण्डारण र उत्पादन दुवै बढेपछि भाउ बुधबार पनि १% भन्दा बढीले घटेको रोयटर्सले उल्लेख गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा हमलालाई अगाडि बढाउने वाचा गरेपनि इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच युद्धविराम सम्झौता हुने अपेक्षाहरु बढेको छ ।
मध्यपूर्वको तनाव केही शान्त हुने अपेक्षा बढेपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ बुधबार १.२९% अर्थात १.११ डलरले घटेर प्रतिब्यारेल ८५.२२ डलरमा कारोबार भइरहेको छ । यस्तै, अमेरिकी बेन्चमार्क ‘डब्लुटीआई क्रुड’ पनि १.४२% अर्थात १.१६ डलरले घटेर प्रतिब्यारेल ८०.७७ डलरमा कारोबार भइरहेको छ । बुधबारको सुरुवाती कारोबारमा ब्रेन्ट क्रुड प्रतिब्यारेल ८४.८३ डलरसम्म झरेको थियो । जुन गत मार्च १५ यताकै न्यून हो ।
यता, कच्चा तेलको भाउलाई अमेरिकामा बढेको मुद्रास्फीतिको पनि प्रभाव परेको छ । मुद्रास्फीति बढ्दा अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना कम हुँदै गएको छ । ब्याजदर कटौतीले आर्थिक वृद्धि र इन्धनको मागलाई बढावा दिन्छ । तर फेडरल रिजर्भको मंगलबार र बुधबारको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गर्ने अनुमान गरिएको छ । जसले कच्चा तेलको भाउ कम गरेको हो । यस्तै, पछिल्लो समय अमेरिकाको तेल भण्डारण र उत्पादन बढेका कारण पनि भाउ घटेको रोयटर्सले उल्लेख गरेको छ ।















