काठमाडौं : २० वटै वाणिज्य बैंकहरुको वैशाख महिनाका लागि निर्धारण भएको आधार दर (बेस रेट) एकल अंकमा आएको छ । चैत महिनाको तुलनामा वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ०.३० प्रतिशत विन्दुले घटेको छ । वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.७५ प्रतिशत कायम भएको छ ।
यसअघि २०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०५ प्रतिशत थियो । चैतसम्म २ वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा रहेकामा वैशाखमा सबै बैंकको आधार दर एकल अंकमा आएको हो । सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको आधार दर जम्मा ७.३६ प्रतिशत रहेको छ ।त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.४२ प्रतिशत र एभरेष्ट बैंकका ७.५३ प्रतिशत छ ।
अरु १५ बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ । ब्याजदर बेस रेटसँग प्रत्यक्ष सम्बन्धित हुने गर्छ । किनभने बैंकहरुले बेस रेटमा निश्चित प्रिमियम थपेर ब्याजदर तय गर्छन् । बेस रेट सस्तो भएमात्र कर्जाको ब्याजदर पनि सस्तो हुन जान्छ ।अनि, मात्र ऋणीले राहत पाउन सक्छन् । केही समयदेखि वाणिज्य बैंकहरुको आधार दर समग्रमा घट्दै आइरहेको छ ।
तर कर्जा लिनेलाई राम्रैसँग राहत मिल्ने गरी अझै पनि ब्याजदर सस्तो हुन नसकेको व्यवसायीहरु बताउँछन् । यसअघि ब्याजदर निकै अकासिएकाले अहिले थोरै घटे पनि ऋणीले राहत अनुभव गर्न नपाएका हुन् ।आर्थिक मन्दी लगायतका कारण नयाँ कर्जा लिएर काम सुरु गर्नेहरुको कमी हुनु अनि यसअघि कर्जा लिएकाहरुले साँवा–ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेकाले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार अपेक्षा अनुसार हुन नसकेको हो । तर बेस रेट सस्तो हुँदै जाँदा कर्जा प्रवाह पनि विस्तारै बढ्दै जाने अपेक्षा गर्न सकिन्छ ।















