काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले ४७ अर्ब १ करोड ५३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
आम्दानीको थुप्रै रकम प्रोभिजन गर्दा यिनीहरुको नाफामा दबाब परेको देखिएको छ । पछिल्लो समय बैंकहरुको खराब कर्जा बढ्दा आम्दानीमा असर परेको छ । आर्थिक मन्दी, सुस्त व्यापार, कर्जाको माग कम हुनुलगायतका कारणले बैंकहरुको प्रदर्शन सन्तोषजन देखिएको छैन । २० बैंकमध्ये सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक अगाडि रहेको छ ।
यसले ४ अर्ब ६६ करोड ८० लाख २९ हजार नाफा आर्जन गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमाएको छ ।१ वर्षको अवधिमा १३ वाणिज्य बैंकको खुद नाफा घटेको छ भने ७ बैंकको बढेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक रहेको छ ।
यसको खुद नाफा ९७.२२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३१ लाख ६६ हजार पुगेको छ । सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल बैंक रहेको छ । यसको नाफा ९२.६८ प्रतिशतले घटेर १३ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।















