काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार नेपालले ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।
यस्तो ऋण गत आर्थिक वर्षको असार मसान्तसम्मा २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ रहेको थियो । आठ महिनामै ९२ अर्ब ८३ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको हो ।
चालू आर्थिक वर्षको आठ महिनामा सरकारले २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ ऋण लिएको छ । जसमा आन्तरिक ऋण १ खर्ब ६३ अर्ब ३१ करोड र बाह्य ऋण ५५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।















