काठमाडौं : सञ्चालनमा रहेका म्युचुअल फन्डहरुको नाफा घटेको छ । नेप्से सूचक घटेसँगै फन्डहरुको नाफा पनि घटेको हो । पुसमा १ अर्ब २ करोड ५५ लाख रुपैयाँ रहेको नाफा माघसम्म आइपुग्दा घटेर ५० करोड २३ लाख रुपैयाँ कायम भएको छ ।
सामूहिक लगानी कोषहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजार घट्दा वा बढ्दा यिनीहरुको नाफापनि तलामाथि हुने गर्छ । यिनीहरुको प्रतिइकाई सम्पति मूल्य अर्थात, न्याभ पनि घटेको छ । यता, बजार घटे पनि फन्डहरुको सेयर बजारमा लगानी भने बढेको छ । २८ अर्ब ८६ करोड रहेको लगानी अहिले बढेर २९ अर्ब ३२ करोड पुगेको हो ।
त्यसैगरी, फन्डहरुले समग्रमा ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ ऋणपत्र, ४ अर्ब ६६ करोड मुद्द्ति निक्षेप र ६ अर्ब ३ करोड रुपैयाँ भन्दा धेरै रकम बैंक मौज्दातमा जम्मा गरेका छन् । सार्वजनिक गरिएको रिपोर्ट हेर्दा म्युचुअल फन्डहरुले बजार घट्दा पनि लगानी बढाएको देखिएको छ । बैंकहरुले दिने ब्याजदर घट्दै गएपछि यिनीहरुले सेयर बजारमा लगानी बढाएको जानकाहरुको भनाई छ ।
न्याभमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ को अग्रतामाघसम्म आइपुग्दा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ को न्याभ सबैभन्दा धेरै देखिएको छ । यसको न्याभ भने अघिल्लो महिनाको तुलनामा २२ पैसाले घटेर ११ रुपैयाँ ४९ पैसामा झरेको छ । सञ्चालनमा रहेका प्रायः सबै फन्डहरुको न्याभ घटेको छ । सबैभन्दा कम मेगा म्युचुअल फन्ड-१ को ८ रुपैयाँ ९० पैसा न्याभ देखिएको छ ।















