२०८३ बैशाख १८ शुक्रबार

काठमाडौं । तरलता अभाव, चर्को ब्याजदर, कित्ताकाटमा गरिएको कडाईलगायत कारणले थलिएको घरजग्गा व्यवसाय लयमा फर्किन थालेको छ । चैत महिनाको लिखत पारित र राजश्व संकलन हेर्दा त्यस्तो देखिएको हो ।

२०७९ मा देशभरका मालपोत कार्यालयबाट चार लाख ६८ हजार घरजग्गा किनबेच भएका छन् भने ४५ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो वर्ष २०७८ को तुलनामा घरजग्गाको लिखत पारित ३४ प्रतिशत र राजश्व संकलन ३७ प्रतिशतले कम नै भएता पनि कार्तिकपछि निरन्तर बढिरहेको कारोबारले चरम मन्दीको भुमरीमा परेको घरजग्गा व्यवसायमा सुधारको शंकेत देखिएको हो ।

२०७८ मा देशभर ६ लाख ९१ हजार २२७ घरजग्गाको लिखत पारित भएको थियो भने पाँच अर्ब ७६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

चैतमा घरजग्गा किनबेच जेठयताकै सबैभन्दा धेरै र राजश्व संकलन असारयताकै सबैभन्दा उच्च रहेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ । घरजग्गा किनबेच र राजश्व असुलीको बढ्दो ट्रेन्डले उत्साह थपेको घरजग्गा व्यवसायीको भनाई छ ।

कुन महिना कति कारोबार ?

२०७९ वैशाखमा ४४ हजार घरजग्गा र जेठमा ५४ हजार ५११ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । भूउपयोग नियमावली–२०७९ जारी भएपछि देशभर कित्ताकाटमा व्यापक कडाई भयो जसले गर्दा घरजग्गा कारोबार नै सुस्ताउन थालेको देखिन्छ ।

मालपोत कार्यालयहरुमा असार महिनामा ४७ हजार घरजग्गाको लिखत पारित भएकोमा साउनमा स्वात्तै घटेर ३३ हजार ८३४ मा खुम्चिन पुग्यो । यस्तै, भदौमा ३४ हजार ७२० घरजग्गा कारोबार भएकोमा अशोजको कारोबार वर्षकै न्यूनतम बिन्दू (२५,७८९) मा झरेपछि घरजग्गा क्षेत्रमा मन्दी देखिएको थियो ।

कार्तिकमा सामान्य बढेर २७ हजार ९३९ घरजग्गा किनबेच भएकोमा मंसिरमा २९ हजार १८४, पुसमा ३८ हजार ८७१, माघमा ४१ हजार ८६, फागुनमा ४० हजार ७३४ र चैतमा ४९ हजार १५० घरजग्गा किनबेच भएको देखिन्छ । विभागको तथ्यांकले घरजग्गा कारोबारको बढ्दो ट्रेन्ड स्पष्ट देखाउँछ ।

कुन महिना कति राजश्व संकलन ?

सरकारले सेवा शुल्क, घरजग्गा रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शिर्षकमा राजश्व उठाउने गर्छ । २०७९ मा देशभरका मालपोत कार्यालयबाट ४५ अर्ब १३ करोड रुपैयाँ राजश्व संकलन भएको देखिन्छ । जबकी, अघिल्लो वर्ष २०७८ मा देशभरबाट ७१ करोड ५७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

२०७९ वैशाखमा चार अर्ब ७८ करोड, जेठमा चार अर्ब २५ करोड, असारमा ६ अर्ब ११ करोड, साउनमा दुई अर्ब ७४ करोड, भदौमा तीन अर्ब ५७ करोड, अशोजमा दुई अर्ब ५७ करोड, कार्तिकमा तीन अर्ब, मंसिरमा दुई अर्ब ६५ करोड, पुसमा तीन अर्ब ७१ करोड, माघमा तीन अर्ब ७० करोड, फागुनमा तीन अर्ब ५७ करोड र चैतमा चार अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

विभागको तथ्यांकले घरजग्गा कारोबारसँग मालपोत राजश्व उठ्ती पनि क्रमशः बढ्दै गइरहेको स्पष्ट देखाउँछ । सरकारले पनि घरजग्गा कारोबार सुस्ताउँदा समग्र अर्थतन्त्रकै प्रणाली बिग्रिन पुगेको ठहर गर्दै पुरानै स्थितीमा कित्ताकाट खुलाउन छलफल गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतले घरजग्गा र निर्माण क्षेत्रमा देखिएको मन्दी हटाएर अर्थतन्त्रलाई चलायमान बनाउने घोषणा गरिसकेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्याजदर घटाउन चर्को दबाव परिरहेको छ । केही बैंकले सस्तो ब्याजदरको घरकर्जा योजना पनि सार्वजनिक गरेका छन् । यो हिसावले २०८० घरजग्गा व्यवसायका लागि सुनौलो बन्न सक्ने व्यवसायीको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर