काठमाडौं । अहिले वैदेशीक व्यापारको आयात–निर्यातबीचको दुरी निक्कै फराकिलो हुँदै गएको छ । करिब डेढ दशकअघि ५९ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा आयात २ खर्ब १३ अर्बको थियो । मुलुकमा व्यवस्था परिवर्तनसँगै वैदेशीक व्यापार घाटामा पनि सुधार हुने धेरैको अनुमान थियो तर सरकारले ठोस निर्णय लिन नसक्दा ठीक उल्टो भइदियो ।
यसले मुलुकको अर्थतन्त्र निक्कै चुनौतीपूर्ण रुपमा गुज्रिरहेको जानकारहरु बताउँछन् । सधैँ आयातमुखी अर्थतन्त्रमा मुलुकको निर्वाह चलाउदै आएको सरकारले वैदेशीक व्यापार घाटाको खाडल पुर्नुको सट्टा झनझन् गहिरो बनाउँदै लगेको छ ।
अहिले करिब विदेशी मुलुकबाट १३ खर्बको वस्तु आयात हुँदा स्वदेशबाट डेढ खर्बको वस्तु मात्र निर्यात हुन सकेको विभिन्न तथ्यांकहरुले देखाएको छ । यसले पनि बढ्दो वैदेशिक व्यापार घाटाको अवस्थालाई छर्लङ्ग हुने गरी चित्रण गरेको छ ।
मुलुकलाई कृषि प्रधान देशका रुपमा हेरिएपनि यस क्षेत्रमा प्रयाप्त मात्रामा दक्ष युवा जनशक्ति उतार्न नसक्दा र कृषि क्षेत्रलाई आधुनिकीरण गर्न नसक्दा वर्सेनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दो छ ।
यस्तै, खनिजजन्य वस्तुको खोज अनुसन्धान र औद्योगिक विकास गर्न नसक्नु, राज्य संयन्त्र प्रभावकारी हुन नसक्नु, विलासिताका महंगा विदेशी सामानहरुको खरिद बढ्नु जस्ता विविध कारणले गर्दा वैदेशिक व्यापार घाटा बढ्दै गएको छ । अति कम विकसित मुलुकको सूचीमा रहँदा र छिमेकी मुलुकसँगको व्यापारिक सम्झौताका कारण शून्य भन्सार सुविधा पाउँदासमेत निर्यात बढाउन सकिएको छैन ।
नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना भएकाले उत्पादन क्षमता वृद्धि गर्दै आन्तरिक खपत बढाएर भारतीय बजार तथा भुटानमा निर्यात गर्न सकेमात्रै पनि व्यापार घाटालाई सन्तुलनमा ल्याउन धेरै मद्दत पुग्ने देखिन्छ ।
वैदेशिक व्यापार घाटा न्युनीकरण गर्दै मुलुकलाई अर्थतन्त्रमा मजबुत बनाउन आवश्यक छ । यसका लागि सरकारले अहिले स्वदेश भित्रै उपलब्ध वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउदै दीर्घकालिन सोच र ठोस कार्ययोजनासहित अघि बढ्नपर्ने विज्ञको सुझाव छ ।















