काठमाडाैं । यो बर्षको तिहारमा २४ लाख माला खपत हुने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले बताएको छ । तिहारमा १४ करोड रुपैयाको फूल खपत हुने पनि एसोसियसनले बताएको छ । फ्यानका महासचिव विश्वमणि पोखरेलले फूलको माला प्रयोग गर्न सबैलाई आग्रह गरेका छन । नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ भने ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको छ ।
यसलाई अझै विस्तार गर्नुपर्ने खाँचो देखिएको छ । प्रायःतिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ । नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरको थियो । नेपाल फूलमा आत्मनिर्भर छैन ।
गत वर्ष नेपालले ११ करोडको फूल आयात गरेको थियो । गत वर्षको तिहारमा भारतबाट मात्रै ३ लाख वटा माला आयात भएको थियो । तर यस वर्ष समयमा नै वर्षा भएकाले फूलको उत्पादन बढेको जिरिक पनि एसोसियनले गरेको छ ।
नेपालमा व्यावसायिक पूmलखेती सुरुआत भएको २५ वर्ष पुगिसकेको छ । विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसायबाट आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार लगानी बढ्न नसकेको बताएका छन ।
भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पति खेती गरेर निर्यातसमेत गर्न सकिने प्रचुर सम्भावना भएपनि यसतर्फ राज्यले सही नीति अख्तियारी गर्न सकेको छैन ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा फूलको महत्व रहिआएको छ । फूलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने सम्भावना छ । सयपत्री फूलखेती गर्न उर्वर जमिनको आवश्यकता पर्दैन । भिरालो तथा खेतबारीका आली तथा कान्ला, आँगनका डिल, गमला एवं घरघरका कौशीमा फूलखेती गर्न सकिन्छ । नेदरल्याण्ड विश्मा धेरै फूल निर्यात गर्ने देशमा पर्छ ।
फूल पवित्र वस्तु भएकाले नेपालमा जन्मदेखि मृत्युसम्म उपभोग हुँदै आएको छ । यसको आवश्यकता सबै जातजाति र धर्म, संस्कृतिमा बराबरी छ । कृषि विभागका उपमहानिर्देशक डा हरिबहादुर केसीले सरकारी लगानी खाद्यबालीमा केन्द्रित भएका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको बताएका छन ।
त्यसोत फ्यानका अध्यक्ष मीनबहादुर तामाङले सङ्घीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकायको अभाव भएको बताएका छन । उनले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गर्नुपर्ने सुझाव दिएका छन ।
पुष्प प्रवद्र्धन नीति अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै तामाङले पुष्पखेतीका लागि ‘हाइब्रिड’ बीउ र ‘टिस्यू कल्चर’ बिरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसकेको बताएका छन । सोही कारण फूलमा अझै पनि परनिर्भरता कायम रहेको एसोसियसनको भनाई छ ।















