२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । कोभिड–१९ महामारीका कारण पाँचतारे होटल अन्नपूर्ण पूरै बन्द भयो। होटल संघ नेपालका अध्यक्ष श्रृजना राणा नै कार्यकारी प्रमुख रहेको होटल अन्नपूर्ण अझै पनि खुल्न सकेको छैन। योमात्रै होइन, यस्तै ठूला-साना गरी एक हजार भन्दा धेरै होटलहरू महामारीबीच करिव तीन वर्ष ठप्प भए।

अवस्था सहज हुँदै गएपछि होटल व्यवसायमा पनि सामान्य चहलपहल सुरु हुन थालेको छ। अर्बौं लगानी गरेर खुलेका होटलहरू लामो समयसम्म ठप्प हुँदा व्यवसायीहरूले ठूलो मार खेप्नुपर्‍यो, भने लगानीबाट उठ्ने त कुरै भएन। पर्यटन क्षेत्रको मुख्य आधार मानिने होटल व्यवसायमा हुने लगानीको नीतिगत रुपमै सुरक्षा नहुदाँ व्यवसायीहरू लगानी गर्न अनकनाउने गर्छन्।

पर्यटकका लागि पर्याप्त होटल छैन र जति होटलहरू खुल्नुपर्ने हो, त्यो संख्यामा लगानी हुन सकेको छैन। यसको एउटै कारण राज्य पक्षबाट लगानीको नीतिगत सुरक्षा हुन नसक्नु नै हो।

‘लगानी सुरक्षा छैन भन्ने थाहा हुँदाहुँदै कसरी लगानीकर्ता बढ्छन् ?’, होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष विनायक शाह भन्छन्, कोरोना महामारी जस्तो अवस्था फेरि नआउला भन्न सकिन्न। त्यसैले पनि लगानीकर्ताहरू होटल व्यवसायमा आउन हिचकिचाउने गर्छन्।’

तर चुनौतीकै बीच पछिल्लो पाँच वर्ष यता तारे होटलहरूमा लगानी बढ्न थालेको पर्यटन विभागले जनाएको छ। सरकारले राजश्व लिए पनि बैंकिङ सहुलियत, कम व्याजदर र अन्य राहतको व्यवस्थालाई नीति नै बनाएर सुविधा दिएमात्र होटल व्यवसायमा लगानी भित्रिने शाह बताउँछन्।

होटल व्यवसायी लगायत अन्य पर्यटन व्यवसायीहरूले एक वर्षअघि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘पर्यटन प्राधिकरण’ गठन गरी होटल व्यवसायका लागि नीतिगत व्यवस्था गर्न माग गरेको होटल संघ नेपालका प्रमुख कार्यकारी निर्देशक टेकबहादुर महतले बताए।

स्पष्ट नीति नहुदाँ मन्त्री, सचिव र कर्मचारीको व्यक्तिगत स्वार्थ बाझिन्छ। त्यसकै कारण व्यवसाय नै धरासायी बन्दै गइरहेको उनको भनाइ छ। सत्तामा पुगेका मन्त्री र कर्मचारीलाई पटक-पटक समस्याहरू बताए पनि सबैले नसुने झै गर्छन्।

उनका होटल व्यवसाय र पर्यटन क्षेत्रको उत्थान गर्न गुरुयोजना ल्याउन धेरै ढिला भइसकेको छ। होटल व्यवसायी सहित पर्यटन क्षेत्रसँग सम्वन्धित सात वटा संस्थाले पर्यटन क्षेत्र सुधारमा नीतिगत व्यवस्थाको माग गर्दै सरकारलाई २१ बुँदे मागपत्र बुझाएका थिए।

लगानी सुरक्षा गरी सुनिश्चित गर्न लगानीकर्तालाई राज्यले विश्वासको आधारहरू दिन सक्नुपर्ने माग व्यवसायीको छ। हाल खुलेका १४२ वटा तारे होटल र एक हजार १५१ वटा पर्यटकस्तरका होटल सुनसान छन्। खुल्ने तयारीमा रहेका र सञ्चालनमा रहेका केही तारे होटलहरू बन्द हुने तयारीमा रहेको उपाध्यक्ष शाह बताउँछन्।

केही होटलले राजश्व तिर्न नसक्ने भन्दै स्तर घटाउन विभागमा निवेदन दिएका छन्। न नीति, न सहुलित। कोरोना महामारीको समयमा तारे हैसियत लिएका होटलले राज्यलाई तिर्नुपर्ने राजश्व तिर्न नसक्ने भन्दै स्तर घटाएका थिए।

कति तिर्नुपर्छ राजश्व ?

होटलको व्यवस्थापन हेर्ने जिम्मा सरकारले पर्यटन विभागलाई दिएको छ। विभागले होटल दर्ताका लागि डिलक्स स्तरलाई एक लाख, पाँच तारे ७५ हजार, चार तारे ६० हजार, तीन तारे ४० हजार, दुई तारे ३० हजार र एक तारेका लागि २० हजार दर्ता शुल्क लिने गरेको छ। विभागको तथ्याङकअनुसार हाल नेपालमा कूल ४३ हजार ९९९ बेडसहितका होटलहरू रहे पनि ती घट्ने क्रममा छन्।

कहाँ–कहाँ खुल्दै छन् स्टार होटल ?

दुई वर्ष अघिदेखि झापामा मेची क्राउन होटल पाँचतारे डिलक्स स्तरबाट सञ्चालनमा आएको छ। अन्य चार तारे स्तरका होटलमा वाराही पोखरा, होटल सांग्रिला भिलेज पोखरा, होटल ल्याण्डमार्क पोखरा र नान्स होटल सिदार्थनगर रुपन्देही थप भएका छन्। त्यसैगरी नयाँ खुलेका दुई तारे होटलमा होटल लोट्सजेम्स गोकर्णेश्वर र होटल भादगाउँ भक्तपुर हुन्। होटल मेरियट र अलफ्ट होटल पनि नयाँ थप भएका पाँच तारे स्तरका होटल हुन्।

काठमाडौंको नक्सालमा हिल्टन, लैनचौरमा सेराटन र ठमेलमा वाराही समूहले होटल खोल्ने तयारी गरी भौतिक संरचना निर्माणको काम धमाधम गरिरहेको छ। त्यस्तै सौराहामा पनि फ्रान्सेली लुभ्र होटल्स ग्रुपले ‘रोयल टुलिप’ ब्रान्डमा एउटा तारे होटल चलाउँदैछ। त्यसको काम पनि लगभग आधाजति भइसकेको छ।

कोरोना महामारीकै बीचमा तीन तारे स्तरको साधारण रिसोर्ट ट्रायम्फ आर्गानिक रिसोर्ट धादिङ, चार तारे स्तरको (डिलक्स) आगन्तुक रिसोर्ट वनेपा र पाँचतारेस्तरको (लक्जरी) चन्द्रगिरी हिल्स खुलेका थिए। विभागले होटल र रिसोर्टलाई छुट्टै वर्गीकरण गरेको छ।

विभागको तथ्याङकनुसार हालसम्म १४२ वटा तारे होटल रहेका छन्। जसमा एक डिलक्स, पाँच तारे १५, चार तारे १७, तीन तारे ३३, दुई तारे ४२ वटा र एक तारे ३४ वटा छन्। १ सय २ वटा तारे स्तरका रिसोर्ट छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर