काठमाडौं । बैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत आर्थिक वर्ष २०७८/०७९ वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो ६ वर्षकै उच्च रहेको वर्ष भएको छ । गत आर्थिक वर्षमा विदेशमा रोजगार खोज्दै जाने नेपालीको संख्या ६ लाख २८ हजार ५ सय ३ पुगेका छन् । बैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको रिपोर्टमा यो संख्या गत वर्षको तुलनामा ४ लाख ६१ हजार ८ सय ५ ले बढी हो ।
आर्थिक वर्ष ०७३–०७४ मा ६ लाख ४२ हजार ८ सय ५९, आर्थिक बर्ष २०७४–७५ मा ६ लाख १२ हजार ६ सय ८५, आर्थिक वर्ष २०७५–७६ मा ५ लाख ८ हजार ८ सय २८ वैदेशिक रोजगारीमा गएका थिए भने २०७६–७७ मा ३ लाख ६८ हजार ४ सय ३३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
कोभिडका कारण समस्यामा पर्दै गएको वैदेशिक रोजगारीको क्षेत्रमा आर्थिक वर्ष २०७७–७८ मा भने १ लाख ६६ हजार ६ सय ९८ मात्र नेपाली वैदेशिक रोजगारीका लागि विदेश पुगेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो ।
यसरी श्रम स्वीकृत लिएर जाने देशमा सबैभन्दा बढी साउदी अरेबिया, दोश्रोमा कतार र तेश्रोमा युएई रहेको छ । साउदी अरबमा यस आर्थिक वर्षमा १ लाख ८८ हजार ३ सय ९८ नेपाली वैदेशिक रोजगारीका लागि पुगेका छन् ।
कतारमा १ लाख ८४ हजार ५ सय ३ नेपाली रोजगारीका लागि गएका छन् भने तेस्रो देश युएईमा १ लाख २२ हजार ३ सय ६६ नेपाली रोजगारीको लागि पुगेका छन् । तर, महिला नेपाली कामदार भित्र्याउने पहिलो देश भने युएई बनेको छ ।
यस देशमा २१ हजार १ सय १० महिला श्रमका लागि पुगेका छन् । नेपाली महिला कामदार भित्र्याउने दोस्रो देश कतारमा ७ हजार १ सय ११ महिला श्रममा सरिक छन् भने अन्य विभिन्न देशमा गरेर यस आर्थिक वर्षमा ४८ हजार ९ सय ७५ महिला कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।















